
५ चैत, काठमाडौँ । रोड सेफ्टी वर्ल्ड सिरिज अन्तर्गत वेस्टइंडिज लेजेन्ड्स र भारत लेजेन्ड्स बिच भएको रोमाञ्चक खेलमा भारत लेजेन्ड्स १२ रनले विजयी भएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको भारत लेजेन्ड्सको टिमले २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनाएको थियो । भारत लेजेन्ड्सका लागि ब्याटिङ्गमा सचिन तेन्दुलकरले सर्वाधिक ६५ रन बनाएर आउट भएका थिए । त्यसैगरी खेलेको अन्तिम समयमा आएर युवराज सिंहले नटआउट रहदैँ २० बलमा ४९ रन बनाएका थिए । सचिनले आफ्नो पारीमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए भने युवराज सिंहले ६ छक्का र १ चौका प्रहार गरेको थिए । वेस्टइंडिजका लागि बलिङ्गमा टिने बेस्टले सर्वाधिक २ विकेट लिएका थिए ।
भारत लेजेन्ड्सले दिएको २१९ रनको विशाल लक्ष्य वेस्टइंडिज लेजेन्ड्सले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । वेस्टइंडिज लेजेन्ड्सको टिमले २० ओभरमा ६ विकेट गुमाएर २०६ रनमात्र बनाउन सक्यो । वेस्टइंडिज लेजेन्ड्सका लागि डवेन स्मिथले सर्वाधिक ६३ रन बनाएका थिए भने भारतका लागि बलिङ्गमा विनय कुमारले सर्वाधिक २ विकेट लिएका थिए ।
जितसँगै भारत लेजेन्ड्सको टिम रोड सेफ्टी वर्ल्ड सिरिजको फाइनलमा प्रवेश गरेको छ ।