२२ चैत्र । Tribute: एक पर्वतेलीको भारतमा यात्राका क्रममा रेलभित्रै मृत्यु भएको छ । महाशिला गाउँपालिका वार्ड नम्बर ५ दुक्तांग पर्वतका लालबहादुर परियार(देवेन्द्र परियार)को भारतमा यात्राका क्रममा रेलभित्रै मृत्यु भएको हो ।
४४ वर्षीय परियार लामो समयदेखि दक्षिण भारतको पाण्डिचेरी स्थित श्री लक्ष्मी नारायण मेडिकल कलेजमा कार्यरत रहँदै आएका थिए । प्रवासी नेपाली संघ भारतका महासचिव टिका पौडेलका अनुसार केहिदिन पहिला घर बिदामा स्वदेश गएर दिल्ली हुँदै कर्मक्षेत्र फर्किने क्रममा नयाँ दिल्लीदेखि चेन्नाई जाने जीटी एक्सप्रेस रेलमा शुक्रबार अर्थात् अप्रिल २ का दिन राती अन्दाजी ३ बजेतिर परियारको निधन भएको हो ।
शितल, महेन्द्र लगायतका नेपाली साथीहरुले परियारको निधन भएसँगै त्यहाँको पुलिस प्रशासन लगायत उच्च ओहोदाका ब्यक्तित्वहरुसँग सम्पर्क र सहयोग लिएर आबश्यक कार्यमा खटीरहेको पनि पौडेलले बताए । महेन्द्र समयमैं घटनास्थल पुगि आन्ध्रा प्रदेश राज्यको सोल्लूरपेट्टा भन्ने ठाउँको रेल्वे पुलिस प्रसासनको सहयोगमा पोस्टमार्टम गर्दै सोल्लूरपेट्टामैं साँझ ५.३० बजेतीर परियारको दाहा संस्कार सम्पन्न गरिएको छ । दाहसंस्कारमा प्रवासी नेपाली संघ भारतका महासचिव टिका पौडेलका साथै केन्द्रीय सदस्य महेन्द्र शर्मा, पाण्डिचेरी नगर समितिका सदस्य तथा भिल्लियनुर प्राराम्भिक समितिका अध्यक्ष शीतल लगायत मृतक देबेन्द्रकीे धर्मपत्नी र छोराहरुः विक्रम, सोमु र पाण्डिचेरी, भिल्लिपुरम र चेन्नई स्थित रहेका मृतकका आफन्तजनहरूको समेत उपस्थिति रहेको थियो ।
प्रवासी नेपाली संघ भारत पाण्डिचेरी नगर समिति अन्तर्गत सञ्चालित भिल्लियनुर प्राराम्भिक समितिका सदस्य समेत रहेका परियारको अप्रत्याशित र असामायिक निधनले आफूहरुलाई दुखित र शोकाकुल बनाएको पौडेलले बताए । ‘देबेन्द्र परियार प्रति आत्मा चिरशान्तिको कामना सहित हार्दीक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परीबारजनमा शोक समबेदना ब्यक्त गर्दछौं ।’ पौडेलले भने ।
वि.सं.२०७७ चैत २२ आइतवार ०८:२४ मा प्रकाशित






























