
२४ चैत्र, काठमाडौं। चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको सार्स कोभ– २ भ्याक्सिन (भेरोसेल) खोप बुधबारदेखि लगाइने भएको छ।
चीनले आफ्नो देश प्रवेश गर्नेलाई अन्य देशले उत्पादन गरेको खोप लगाए मान्यता नदिने परिपत्र गरेपछि स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएको भेरोसेल लगाउने निर्णय गरेको हो ।
चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि १४ वटा खोप केन्द्रबाट दिन लागिएको हो। उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, सीमापार व्यापार व्यवसाय गर्ने, चीनमा अध्ययन गर्न जाने विद्यार्थी, भ्रमणमा जाने कर्मचारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यसअघि काठमाडौं उपत्यकाका अस्पताल र प्रदेश अस्पतालमा केन्द्रित रहेर लगाउने जनाएपनि हाललाई काठमाडौमा मात्र खोप लगाइने भएको छ ।
मन्त्रालयका अनुसार यी १४ स्थानमा खोप अभियान सञ्चालन हुनेछ।
१)शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
२) परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली
३) निजामती कर्मचारी अस्पताल, मिनभवन
४) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल
५) राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र, कीर्तिपुर
६) त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
७) काठमाडौँ मेडिकल कलेज, सिनामंगल
८) नेपाल मेडिकल कलेज, अत्तर खेल
९) शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी
१०) वीरेन्द्र अस्पताल छाउनी
११) एपीएफ अस्पताल, बलम्बु
१२) नेपाल प्रहरी अस्पताल, पानी पोखरी
१३) ओम अस्पताल रिसर्च सेन्टर, चावहिल
१४) क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी