फर्शुराम भुर्तेल,३० चैत, पर्वत । पर्वत जिल्लाको पैञ्यु गाउँपालिका ६ डाँडा काँहुमा भएको भीषण आगलागीबाट पीडितलाई सहयोग गर्ने प्रक्रिया अब एकद्धार प्रणालीमार्फत् हुने भएको छ ।
तत्काल चाहिने खाद्यान्न र अत्यावस्यक राहत हात–हातमा परिसकेको स्थितिमा बाँकी सहयोग र राहत जुटाउन तथा वितरण गर्न स्थानीयस्तरमा ‘गाउँस्तरीय विपद् व्यवस्थापन समिति, पैञ्यु ६ डाँडाकाँहु’ निर्माण भएको छ । स्थानीय वासिन्दा समेत रहेका सो वडाका सचिव पाराश्वर सापकोटाको संयोजकत्वमा ७ सदस्यीय विपद् व्यवस्थापन समिति बने लगत्तै एकद्धार प्रणालीमा सहयोग प्रक्रिया चल्ने भएको हो ।
वडा सचिव सापकोटाको संयोजकत्वमा बनेको सो समितिमा मुकुन्द गौतम सचिव र रेशमलाल गौतम कोषाध्यक्ष रहेका छन् भने लीलादेवी गौतम, दिपक सापकोटा, छविलाल गौतम र नम प्रसाद सापकोटा सदस्य रहेका छन् ।
चैत २७ गते खरभीरबाट सुरु भएको सो भीषण आगलागीले ५ परिवार पूर्ण प्रभावित बनेको छ । अरु ६ वटा परिवार आंशिक प्रभावित तथा १५ वटा गोठ एवं केही चौपाया जलेर नष्ट भएका छन् । क्षतिको प्रारम्भिक अनुमान मात्र भए पनि वास्तविक लागत उतार्ने काम भैरहेकोले मानवीय सहयोग जुटाउन र न्यायोचित वितरणको प्रक्रिया मिलाउन स्थानीय विपद् व्यवस्थापन समिति सक्रिय भएको छ ।
यस्तो छ अहिलेसम्मको सहयोग विवरण
चैत २७ गते आगलागी हुँदा तत्कालको विपद् व्यवस्थापनका लागि पैञ्यु गाउँपालिकाबाट पुर्ण प्रभावित ५ परिवारका लागि चामल ५० केजीको दरले र नुन–चीनी २–२ किलो, तेल २ लिटर, वेसार, मसला, ओड्ने ओछ्याउने वेड ३\३ सेट, जलेको गोठको लागि १५ वटा टाट तथा प्रति परिवार १० हजारका दरले सहयोग पुगेको थियो ।
यसैगरी ‘बोलबम समुह’ वालिङबाट चामल ६ कट्टा, १५ वटा टाट, नुन–तेल–चीनी एवं सबैभन्दा बढी प्रभावित मानिएका शेर प्रसाद गौतमलाई ७ हजार नगद दिइएको थियो । यसैगरी नेपाल रेडक्रस पर्वत शाखाले ५ वटा किचन सेट तथा ५ वटा टाटको व्यवस्था गरिदिएको छ । यसैगरी प्रदेश सरकारका मन्त्री विकास लम्साल तथा पर्वत जिल्ला प्रशासनका प्रशासकिय अधिकृत विमल प्रसाद गौतमको उपस्थितिमा ८ वटा भत्केको घरका लागि भनि १०/१० हजार नगद सहयोग एवं चिनिया टेन्ट ५ थान तथा बस्न मिल्ने त्रिपाल १२ थान सरकारका तर्फबाट हस्तान्तरण गरिएको थियो ।
यसैगरी हाँडिखर्क युवा क्लवले ६ वोरा चामल, तेल ६ पोका तथा नुन र चीनी हस्तान्तरण गरेको छ भने पुर्णचन्द्र भुसाल (उराम) को नाममा स्थापीत पुर्णचन्द्र ट्रष्टको नाउँमा छोरा सुन्दर र कृष्ण प्रसाद भुसालले ९० हजार बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण गरेका छन् । बढी प्रभावित शेर प्रसाद गौतमकी श्रीमतीका लागि जिविस समन्वय समिति पर्वतकी उपसभापति यामकुमारी रानाले लत्ताकपडा उपलब्ध गराएकी थिइन् ।
यस्तो छ नगद सहयोगको विवरण
चैत ३० गते विहानसम्मको प्राप्त विवरण अनुसार स्थानीय नेत्र प्रसाद सापकोटाको ५ सय नगद सहयोगबाट सुरु भएको थियो । साथै गंगाधर न्यौपाने २ हजार १ सय , हाडिखर्कका लाल बहादुर क्षेत्री ६ हजार, ओम बहादुर परियार २ हजार, लोक बहादुर क्षेत्री ३ हजार, तेज प्रसाद पौडेल १ हजार, कृष्ण प्रसाद श्रेष्ठ तत्काल नगद १ हजार तथा अन्य सहयोग जुट्दै, यज्ञ प्रसाद तिवारी तथा कौशिला तिवारी ५ हजार, वुद्धराज तिवारी २ हजार र निर्भिक नारायणमार्फत् मुक्ति प्रसाद भुर्तेल (हाल युएई) १० हजार सहयोग प्रदान गरिएको थियो ।
यसैगरी अन्तराष्ट्रिय पर्वत समाजका कृष्ण प्रसाद तिवारी मार्फत् आएको सहयोग जयनारायण तिवारीबाट हस्तान्तरण भएको थियो । जसमा कृष्णप्रसाद तिवारी सरौंखोला हाल बेल्जियमको नाउँमा ५० हजार, उनका दुई विद्यार्थी छोरीहरु आस्था तिवारी र निष्ठा तिवारीका नाउँमा १० हजार उनकै भतिज विनोद तिवारीबाट ५० हजार गरी १ लाख १० हजार सहयोग हस्तान्तरण भएको थियो । यी हस्तान्तरण कार्यक्रमहरुमा गाउपालिका उपाध्यक्ष जसमति गुरुंग लगायतको उपस्थिति रहेकाे थियाे ।
थप सहयोगको चौतर्फि प्रयास
डाडाँकाँहु विपद् व्यवस्थापन प्रभावकारी बनाउन चौतर्फि प्रयास सुरु भएको छ । स्थानीय वडा विपद् समितिको शिफारिस सहित पालिका विपद् कोषबाट रकम विनियोजित हुने प्रक्रिया शुरुवात गरीएको छ भने वडाहरुमा मन्दिर पौवा, र अन्य अत्यावश्यक नभएका सार्वजनिक निर्माण कटौती गरी सहयोग जुट्ने अपेक्षा गरिएको छ । यस सम्बन्धमा ‘मानिसलाई टाटमुनि सुताएर विकासको हल्ला पिट्नुको अर्थ हुँदैन’ भन्ने कुरो जनप्रतिनिधिहरुले सोच्ने अपेक्षा एक समाजसेवीको थियो । वडा, पालिका वाहेक प्रदेश र संघ सरकार समेतमा पहल गरी स्थायी आवास निर्माण गर्नुपर्नेमा बहश बढेको छ ।
यस सम्बन्धमा अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, महासचिव गुराँस पौडेल तथा सल्लाहाकार कृष्ण तिवारी, अभियन्ताहरु भीमलाल भट्टराई र मणि भुर्तेल लगायतले डाँडाकाँहु विपद्का बारेमा सो संस्थाभित्र छलफल चलाएका छन् ।
‘डाँडा काँहु विपद् सहयोग अभियान’ नामक नीलकण्ठ तिवारीद्धारा चलाइएको अस्थायी अभियानमा अहिलेसम्म विभिन्न देशमा रहेका पर्वतेलीहरु जोडिएर छलफल चलाइरहेका छन् । बेलायतबाट भीम प्रसाद भट्टराई, थानेश्वर काफ्ले, नेत्र आले, डेनमार्कबाट उदयराज गौतम, राजदूत युवनाथ लम्साल, जापानबाट महेन्द्र श्रेष्ठ, हिमाल भट्टराई, निरु गौडेल, किरण तिवारी, अमेरिकाबाट राजेन्द्र श्रेष्ठ र लोक बसेल लगायतले छलफल चलाइरहेका छन् ।
विगतको विपद्मा रकम सहि प्रयोग हुन नसकेकाले सहि प्रयोग र दुरगामी स्थायीत्व हुने गरी सहयोग दिनुपर्ने धारणा अधिकांशले राखेका छन् । पत्रकारहरु छविलाल तिवारी, निर्भिक भुर्तेलको पनि स्थायी घर बनाउनेमा मत देखिएको छ भने स्थायी विपद् समितिको अपेक्षा पनि एकद्धार प्रणाली मार्फत् सहयोगको उपयोग गर्नेतर्फ देखिन्छ । स्थानीय विपद् समितिको संयोजक, सचिव र कोषाध्यक्षको संयुक्त नाममा गरिमा विकास बैंकमा ‘ गाउ स्तरीय बिपद ब्यबस्थापन समिति पैयु ६ डाडाकाहु ’ को खाता न ०१४००१००८९०६९६०००००१ मा रकम संकलन गर्ने र एकिकृत योजना बनाएर पारदर्शि हिसाव सार्वजनिक गर्ने बताइएको छ ।
सो फेसबुक मेसेन्जर समुहको अभियानमा जापानबाट निरु गौडेलले ५० हजार, हिमाल भट्टराईले ३० हजार र महेन्द्र श्रेष्ठले १ महिनाको पारिश्रमिक दिने प्रतिवद्धता सार्वजनिक गरेको जनाइएको छ भने राजेन्द्र श्रेष्ठ अमेरीका, बिकास सेन (हाल नेपाल) लगायतले सहयोग गर्ने घोषणा गरेका छन् । पछिल्लो सक्रियताका कारण अन्तराष्टिय पर्वत समाजको सहयोग निकै प्रभावकारी हुने अपेक्षा गरीएको छ ।
वि.सं.२०७७ चैत ३० सोमवार १६:५४ मा प्रकाशित






























