३१ चैत, काठमाडौं । नेपाली कांग्रेसले कोभिड—१९ (कोरोना भाइरस) महामारी रोकथाम तथा नियन्त्रणका लागि गम्भीर रहन सरकारलाई आग्रह गरेको छ । कांग्रेसको कोभिड-१९ अनुगमन समितिले सरकार संक्रमण रोकथामका लागि गम्भीर नभएको आरोप समेत लगाएको छ ।
अनुगमन समितिले मंगलबार विज्ञप्ति जारी गर्दै लकडाउन बाहेकका अन्य विकल्प खोज्न समेत कांग्रेसले सरकारलाई आग्रह गरेको छ । ‘यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछु’ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले भने ।
उनले कार्यलयहरु बन्द गर्नेभन्दा पनि स्वास्थ्य मापदण्ड पालना भएनभएको अनुगम बढाउन समेत आग्रह गरे, ‘कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं ।’
संक्रमणको दर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै आवश्यक तयारी गर्न काँग्रेसले सरकारसँग ९ बुँदे माग गरेको छ । जसमा स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गरिनुपर्ने, सिमा नाकाबाट आउनेहरुलाई व्यवस्थित चेक जाँच गरिनुपर्ने, कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाइनुपर्ने, खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गर्नुपर्ने लगायतका माग गरिएको छ ।
काग्रेसले सरकारको उदासीनताको कारणनै हालको अवस्था आएको र फेरि कोभिड—१९ को संक्रमण फैलन थालेको भन्दै भविष्यमा अझ भयावह अवस्था आउने भएकाले बेलैमा सचेत हुन सरकारलाई आग्रह गरेको छ ।
वि.सं.२०७७ चैत ३१ मंगलवार १६:५४ मा प्रकाशित






























