चट्पटे बेच्छ की सपना बेच्छ ?
थाप्लोमा ढाकी बोकेर
आकांक्षा बेच्छ की कल्पना बेच्छ ?
गाऊँ–गाऊँ, शहर–शहर
टोल र गल्ली घुमेर
चट्पटे बेचेरै भविश्य किन्छु भन्दो हो
चट्पटे बेचेरै जिन्दगी सुधार्छु भन्दो हो
चाना–मटरका दाना–दानामा खोज्दो हो
केही खुशीहरू
मसाला, खुर्सानीका चुर्णहरूमा खोज्दो हो
मुट्ठीभर जीवन
बाटोको चौपत्तिमा बसेर
मर–मसालासंगै चट्पटेमा
मुस्कानहरू फिट्छ
आँसु, पसिना र परिश्रम निचोड्छ
मसिना टुक्रा रहरहरू मिसाउँछ
अनि कलिला सपनाहरू छिट्छ
सब थोक घोलेर आफ्नो दुःखहरू टाल्छ !
सुन्नेले सुनोस–नसुनोस
किन्नेले किनोस–नकिनोस
खानेले खावोस–नखावोस
दोबाटोमा उभेर भट्याई रहन्छ
‘ऐ चाना चट्पटे !’
ओंठको हाँसो बद्लोस् नबद्लोस्
जीवनमा बसन्त आवोस् नआवोस्
मौसम जस्तै बद्लिन्छ उसको इच्छाहरू
ऋृतु जस्तै बद्लिन्छ उसको सपनाहरू
चट्पटे,
सम्झिन्दै अरूको मुखमा पानी आउँछ
चट्पटे,
सम्झिन्दै उसको आँखामा पानी आउँछ
विचरा, पुग–अपुग
घाम होस् या पानी
भोक होस् या तिर्खा
मरिमेट्छ परिवारको निम्ति
खटिरहन्छ पापी–पेटको निम्ति
समस्याहरू भूल्छ,
इच्छाहरू भूल्छ,
र तयार पार्छ स्वादिष्ठ अमिलो, पिरो चट्पटे !!
वि.सं.२०७८ वैशाख ११ शनिवार ०६:१९ मा प्रकाशित






























