Logo
१ भाद्र २०७९, बुधबार
     Wed Aug 17 2022
E-paper
  English Edition
   Unicode
Logo

माउ भाषालाई मुल धारमा ल्याउने अपेक्षासहित लेखिएको “ऐना”



ramlal-ji

भनिन्छ यदि समाज परिवर्तन गर्नुछ भने पहिले आफूवाट सुरुवात गर्नुपर्छ । अनिमात्र समाज परिवर्तनको संवाहक बन्न सकिन्छ । त्यहि प्रयास गरेका छन् मदन पुरस्कार बिजेता कथाकार रामलाल जोशीले । सुदूरपश्चिम डोटीको कानाचौर गाविस २ कोटीलामा २०३१ सालमा बुबा (स्वर्गीय) हरिभक्त जोशी र आमा तुलसादेवि जोशीको कोखबाट जन्मिएका जोशी स्वदेश तथा विदेशमा रहेका नेपालीहरू बीच नेपाली साहित्य क्षेत्रको नक्षत्रका रुपमा उदाएका छन्, यतिबेला ।

उनले कथाको माध्यमबाट समाज सुधारको सुरुवात आफ्नै घरबाट गरेका छन्, भन्दा फरक नपर्ला । आफ्नै मावली घरका बाजेले कोड(कुष्ठरोग) लागेको भनेर आफ्नो जिउँदा दाजुलाई अनकन्टार जंगलमा लगेर छोडिदिएको घटनाबाट उनको श्रृजना बनेको छ, ‘ऐना’ । आफ्नो परिवारलाई समाजमा कोड लागेको सन्तानको रुपमा चित्रित नगरियोस्, विहेबारी नरोकियोस्, गाउँका भद्रभलाद्मीले आफ्नो परिवारलाई पापी नठहराउन भनेर मानवियता भन्दा सामाजिक प्रतिष्ठालाई ठूलो मान्दै आफ्नै दाजुलाई डोकोमा राखेर जंगलमा छोडेको कथा कम हृदय विदारक छैन् । हो, जोशीले यहिबाट उठाउन खोजेका छन्, हाम्रो समाजभित्र लुकेर रहेका अपारदर्शी समाजका कथाहरू । देश सभ्यता र समृद्धिको मार्गमा लागिसक्यो भनेर ढोल पिट्नेहरूलाई झल्याँस्स भएर एकपटक फेरि पछाडि फर्केर हेर्न बाध्य बनाएको छ, ‘ऐना’ ले । उनीहरूलाई बाजुराकी कोइली देवीजस्तै धेरै पात्रहरूको कथा सम्झाउन बाध्य पारेको छ । साथै खुल्लम खुल्ला यौन व्यवसाय गर्ने वादी समुदायको समाचार यदाकदा आउने गरेपनि त्यस समुदायभित्रको बाध्यता के हो त भन्ने कुरा छर्लङ्ग देखाएको छ, ऐनाले । कथा पढ्दै जाँदा पाठकले त्यहाँ आफूलाई पाउँछ, आफ्नो विगत सम्झन्छ, अनि कतै भावुक हुन्छ त कतै आत्म जागरणको रुपमा ग्रहण गर्छ, ऐनालाई ।

yana

मोफसलमा रहेर पनि मदन पुरस्कार पाउने कथा संग्रह हो ‘ऐना’ । यतिबेला जोशीले मात्रै मदन पुरस्कार पाएका होइनन्, मदन पुरस्कार गुठी पनि पाठकहरूको मनबाट सम्मानित भएको छ, भन्न कन्जुस्याँइ गर्नु हुँदैन् । मदन पुरस्कार गुठीले यसपटक राजधानीबाट टाढा दूरदराजमा रहेर अभावैका बीचपनि समाज रुपान्तरणका लागि संघर्ष गर्ने लेखकको सम्मान गर्दै मोफसललाई अझ अगाडि बढ्न थप प्रेरणा दिएको छ । अनि सहरलाई नै केन्द्रीत गरेर लेखनमा लाग्नेहरूलाई राजधानी मात्रै होइन्, देशका कुना कन्दरामा रहनेहरूको कथा खोज्न जाउँ भन्दै घचघच्याएको पनि छ, ऐनाले ।

देशका दूरदराजका बालबालिकाले अझैपनि स्कुलको अनुहार देख्न पाएका छैनन्, शिक्षाको उज्यालो स्पर्श गर्न सकेका छैनन् । कथाकार जोशीको अवस्था पनि त्यस्तै थियो । उनले १० वर्षको उमेरमा मात्र स्कुल टेकेका थिए । समाजसेवी मामाको विचारबाट जन्मिएको स्कुल बनाउने अभियानमा उनी आफै ढुंगा माटो बोकेर अरुले जस्तै स्कुल बनाउन सहयोग गरे, मामालाई ।

स्कुले जीवनदेखि नै सुरु भएको थियो जोशीको साहित्यिक यात्रा । बाबाले बाकसभित्र लुकाएर राखेको डायरीमा रहेको ‘विद्याकी रानी’ शिर्षकको कविताले उनको मन तान्यो । त्यसैलाई दोहो¥याइ तेह¥याइ पढेँ । अनि बिस्तारै लेख्ने कोशिष गरेँ ।

उनी ७ वर्ष ७ महिनाको हुँदा बुबाको मृत्यु भएको थियो । आमा २४ वर्षकी मात्र हुनुहुन्थ्यो । उनले बाल्यकाल देखिनै संघर्ष गर्दै आए । कविता लेख्ने र बाचन गर्ने क्रम चलिह्यो । तर, त्यति बेलाको सबै साहित्यीक कसरत केवल उनी आफैमा मात्र सिमित रहेको थियो । उनको कविता भरीएको मन पोखिनै पर्दथ्यो । कक्षा ५ मा पढ्दा उनले फेरि कविता लेखे ‘नेपाली चरित्र’ । त्यो स्कुलको वार्षिकोत्सवमा बाचन गर्न लगाइयो । त्यसमा उनको कविता उत्कृष्ट भएको भन्दै आफ्ना हजुरबुवा र अन्य एक व्यक्तिले १०–१० रुपैयाँ पुरस्कार समेत दिए, उनलाई । उनले स्यावासी पनि पाए । बस यहि उत्साहको खाँचो थियो उनलाई अनि हौसिए, कविता यात्रामा ।

उनले कोटीलामा रहेको कोटिला प्राबीमा कक्षा ६ सम्म अध्ययन गरे भने त्यसपछि मामा घर कैलाली आए । कैलालीको रघुनाथ आर्दश माविबाट एसएलसीसम्मको अध्ययन गरेर कैलाली बहुमुखी क्याम्पसबाट बिए सके, जोशीले । साहित्य क्षेत्रले आफ्नो योगदान मागिरहेको र साहित्यमा केही गर्नुपर्छ भन्ने विचार बोकेका जोशीले चन्दा संकलन गरेरै पनि आफ्नै सम्पादनमा २०५० सालमा ५० पेजको साहित्यिक पत्रिका ‘सौगात’ निकाल्न सफल भए । कैलालीको बौनियाबाट साइकल चढेर धनगढीसम्म पुगेर पत्रिका पनि बेचे । त्यसपछि उनले २०५४ देखि २०५८ सम्म युग पुकार द्वैमासिक पत्रिका समेत निकाले । उनी कैलाली पत्रकार महासंघका सचिव पनि रहेर काम गरिसकेका छन् ।

२०५५ तिर कैलालीमा ‘खण्डहर नयाँ नयाँ’ का लेखक तथा साहित्यकार ज्ञानुवाकर पौडेलसँग उनको भेट भयो । पौडेलसँगै थिए, मदनमणि दिक्षित पनि । उनले आफूले लेखेको गजल पौडेललाई सुनाए । पौडेलले गजल सुनेर ‘प्रयास गरेपछि गजल संग्रह निकाल्नु पर्छ’ भनेपछि उनी हौसिए । अनि पहिलो गजल संग्रह ‘हत्केलामा आकाश’ जन्माए जोशीले । जसको भूमिका ज्ञानुवाकर पौडेलले नै लेखिदिएका थिए । उनका गजल संग्रहमा उमेरगत हिसाबले धेरै माया प्रेमका कुरा मात्रै नभएर समाजको गरिबी, पछौटेपन लगायतका कुराहरू पनि समावेश थिए ।

उनको शैक्षिक तथा साहित्यीक यात्रा निरन्तर रह्यो । २०५९ सालमा एमए गर्नका लागि काठमाडौँ आए । तर, उनलाई सुदूरपश्चिमले बोलाइरह्यो अनि आफ्नै ठाउँका लागि केही गर्नुपर्छ भनेर झक्झक्याइरह्यो । अनि त २०६१ मा त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स सकेर धनगढी नै फर्किए ।

राजधानी काठमाडौँमा धेरै सम्भावनाहरू थिए नी, किन फर्कनु भयो त धनगढी नै ? भन्ने ऐक्यबद्धताको जिज्ञासामा उनी भन्छन् “हजुर थियो नी, बानेश्वरमा एउटा कलेजमा पढाउन भनेका थिए, साथिहरूले । तर, म जहाँ अँध्यारो छ त्यहाँ उज्यालो छर्नुपर्छ भन्ने सोच बोकेको मान्छे काठमाडौँमा रमाउन सकिन अनि फर्किएँ आफ्नै ठाउँमा ।”

कैलाली फर्केर जोशी शिक्षण पेशाका साथै साहित्य गतिविधिमा पनि लागे । उनले सुदुरपश्चिमान्चल क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, ऐश्वर्य क्याम्पस हुँदै हाल पन्चोदय क्याम्पसमा अध्यापन गरिरहेका छन् । जोशीले सदूरपश्चिममा साहित्यको उत्थानका लागि त्यहाँका घर–घरबाट पैसा उठाएर ६० लाखमा सुदूरपश्चिमाञ्चल साहित्य प्रतिष्ठानको भवन पनि बनाए, धनगढीको कैलालीमा । “सम्भवत नेपालकै पहिलो साहित्यिक भवन हो, त्यो जुन स्थानीय पहलमा बनेको” जोशी भन्छन् ।

त्यहि बिचमा वैवाहिक जीवनमा प्रवेश गरिसकेका जोशीलाई छोरी जन्मिएपछि अलि फुर्सद भयो । श्रीमती लक्ष्मी ओझा पनि शिक्षण पेशामा रहेकाले उनी पढाउन जाँदा छोरी हेर्ने जिम्मा जोशीको थियो । फुर्सदको समयलाई सदुपयोग गरेर उनले त्यहिबेला ‘ऐना’ जन्माउने विचार गरे । तर दुर्भाग्य त्यहिबेला उनकी २८ वर्षीया बहिनीको मृत्यु भयो । बिहे गरेर घरजम गरेर बसेकी बहिनीको एक्कासी भएको मृत्युले उनलाई विक्षिप्त बनायो । बेलुका खाना खाएर सुतेकी बहिनी विहान मृत अवस्थामा भेटिएपछि जोशी मानसिक पीडामा परे ।

बहिनीको मृत्युको पीडासँगै समाजमा भए गरेका तर, बाहिर नआएका धेरै जीवनहरू बाहिर ल्याउने सोचे उनले । नेपाली साहित्यमा सुदूरपश्चिमाञ्चलको जनजीवनले कतै पनि प्रवेश नपाएको महशुस गरेका कथाकार जोशीले आञ्चलिक जनजीवनलाई कथाको विषयवस्तुका रुपमा चुने ।

जहाँ छोरीका लागि बाबु ग्राहक खोज्न जान्छन्, कम्प्युटरमा खेलेर शिक्षा आर्जन गर्ने बेलामा खुटिया नदीका पुलमुनि गिटी कुट्न बाध्य छन्, जहाँ स्कुल पुगेका बालबालिका बेलुकाको गर्जो टार्नका लागि टिफिनको समयमा गिटी कुट्न दर्गुछन, शब जलाएर निस्केको कोइला संकलन गरेर जीवन गुर्जान बाध्य छन् यहाँका धेरै बालबालिकाहरू । “बालबालिका मात्र नभएर एउटा उर्जाशील युवकको विदेश जानुपर्ने बाध्यता, भोकमरीका कारण छोराछोरीसँगै नदीमा हेलिएर मनुपर्ने बाध्यता, मजदुरी गर्न भारत पुगेकाहरू एचआइभी बोकेर आएको वास्तविक कथाहरू जबसम्म राज्यको नजरमा उपहास बनिरहन्छन् तबसम्म देशको मुहार सुन्दर बन्दैन देशको मुहार सुन्दर नभएसम्म आर्थिक समृद्धि हुँदैन् त्यहि भाव र सार बोकेको छ मेरो ऐनाले”, कथाकार जोशी भन्छन् “त्यस्ता धेरै जीवनहरू मेरो ऐनामा छर्लङ देखिएका छन्” ।

जोशीका अनुसार अब लेखकले निकै सचेत भएर लेख्नु पर्ने बेला आएको छ । पाठकहरू लेखक भन्दा सचेत भइसकेका छन् । उनीहरू जुन पुस्तकमा पनि एउटा ढर्राको समाज पढ्न चाहँदैनन्, एउटै विषयवस्तुलाई नयाँ शैलीमा पस्ककेको पनि रुचाउँदैनन् । नितान्त सत्यतामा आधारित नौलो साहित्यिक संसारमा डुबुल्की मार्न चाहन्छन् भन्ने कुरा लेखकले ख्याल गर्न जरुरी छ ।

मदन पुरस्कार बिजेता भनेर देश विदेशबाट नेपालीहरूले दिएको मायालाई सम्हाल्न चुनौती रहेको बताउँछन् जोशी । “मैले मोफसलमा रहेर पनि पाठकहरूको माया धेरै पाएको छु । यसलाई आगामी दिनमा खरो उतार्नुपर्छ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु । राम्रो लेखनका लागि अझ आत्म दबाब बढेको छ ।”

उनलाई कथा लेख्ने समय अथवा कथा पुरा गरिसकेपछि पनि मदन पुरस्कार पाउँछु भन्ने अपेक्षा थिएन् । पाखे र पछौटे भाषाका रुपमा चित्रण गर्दै हुम्ला, जुम्ला, बझाङ, बाजुरा, लगायतका जिल्लामा बोलिने माउभाषाहरू छोडेर बजारीया भाषा प्रयोग हुन थालेको ठहर गरेका जोशीको अपेक्षा यतिमात्र थियो कर्णाली क्षेत्रको नेपाली भाषाको माउरुपलाई साहित्यको मुलधारमा प्रवेश गराउनु ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खोटाङ । जनता समाजवादी पार्टी खोटाङका अध्यक्ष टंकबहादुर थापासहित १३ जना नेकपा माओवादी केन्द्र

काठमाडौं । नबिल बैंकले नेपालमा पहिलोपटक आफ्ना क्यू आर मर्चेन्टलाई फोनलोनको सुविधा शुभारम्भ गरेको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको