आकाशमा बादलको थुँगा हेर साथी
कपासझैँ सेतोसेतो डुल्छ माथि माथि
चारैतिर पोतिएको चाँदीजस्तो घेरो
डुल्न पाए मज्जा हुन्थ्यो समातेर फेरो
बस्छ कैले हिमालको शीर माथि गुथी
थाहा हुन्न कतिबेला जान्छ आफै उठी
खुरुखुरु हिँडिरन्छ देखिँदैन खुट्टा
हेर्दाहेर्दै बन्छ फेरि थरीथरी बुट्टा
देख्छु कैले बाघजस्तो कैले घोडाजस्तो
कैले देख्छु ढल्की हिँड्ने हाँसको जोडाजस्तो
नाङ्लाभरी सुकाएको मस्यौराको दाना
छरिएझैँ लाग्छ कैले उस्तै सानासाना
रुप फेरि फेरी डुल्ने बादलको बानी
कालोनिलो हुँदै फेरि झारिदिन्छ पानी
वि.सं.२०७८ असार ५ शनिवार ०७:०१ मा प्रकाशित






























