एउटा घाम झुल्किँदै गरेको
बिहानीको आकाश हेरेर
भाग्योदय भएको भ्रममा
उदाएका छौं हामी ।
हामी
एउटा निष्पट अँध्यारो जस्तै
केही बाँच्दैछौं !
(यसरी बाँच्न वाध्य बनाइएको भन्दा हुन्छ । )
एउटा अनिश्चित आकाश ओढ़ेर
नौलो बिहानीको भ्रममा
असम्भावनाको घाम ताप्दैछौं ।
वास्तवमा निष्पट अँध्यारोले
चिथोरिएका छन् हाम्रा आँखाहरू ।
आकाशको नीरवतामा
घाम लागेको भ्रममा
आशाका थाङ्ना-भोगटाहरू
थुपारेका छौं
आँगनमा सुकाउनलाई ।
हाम्रो आकाशमा
नौलो बिहानीको घाम लाग्नु भनेको
एउटा तुफानले बढ़ारेर
दिउँसै रात पार्ने
कालो बादल पन्साउनु हो ।
नयाँ घाम जन्माउनलाई
आकाशलाई गर्भाधान गराउन
कहीँ त एउटा मसीह
जन्मिएको हुनैपर्ने हो –
यो औंसीलाई अँगालेर
कहिलेसम्म बस्नु पर्ने हामी
-यो प्रश्न त
हामी सबैको अघि
उभिरहेकै छ नि !
वि.सं.२०७८ असार १९ शनिवार ०७:२३ मा प्रकाशित






























