back
CTIZAN AD

लोकप्रियता प्राप्त गर्दै साइनो

वि.सं.२०७८ साउन १६ शनिवार

753 

shares

विषयप्रवेश
साइनो नेपाली कविताको एउटा सूक्ष्म प्रयोगका रूपमा लोकप्रिय बन्दै गएको पाइन्छ । साइनु नामवाची शब्दकै व्यावहारिक रूप साइनो भएर प्रचलित भएको पाइन्छ । साइनो मानवीय सम्बन्धको कडीका रूपममा रहनुका साथै अहिले नेपाली कविताको एक विशिष्ट प्रयोगका रूपमा स्थापित हुन पुगेको छ । हाइकुमा जस्तै अक्षर गणना हुने भए तापनि साइनो नेपाली माटोको उपज बन्न गएको छ ।

अहिले यसले धेरै स्रष्टाहरूसँग साइनो लगाइसकेको छ । सूक्ष्म आयाममा निर्मित हुनु, तात्क्षणिक रूपमा विषयलाई उठाउनुका साथै खास समस्यामा केन्द्रित भई विकृतिप्रति कटाक्ष गर्नुका कारण पनि यो अभिव्यक्तिको प्रभावकारी माध्यम बन्न गएको स्पष्ट हुन्छ । अहिले नेपाली कविताको फाँटमा साइनोले क्रमशः ठाउँ लिन थालेको पाइन्छ । नेपाली कविताको यस सूक्ष्म भेद साइनोलाई जन्माउने श्रेय साहित्यकार छायादत्त न्यौपाने ‘बगर’लाई जान्छ । सर्वप्रथम २०७६ साल साउन १६ गतेका दिन यस प्रकृतिको रचनाको निर्माण भएको कुरा स्वयं न्यौपाने ‘बगर’को आत्मस्वीकृति रहेको पाइन्छ । साइनोले आज दुईवर्षको यात्रा पार गरेको छ । यस दुई वर्षको अवधिमै कविताको यो रूप उत्तरोत्तर लोकप्रिय बन्दै गएको कुरा सबैका सामु छर्लङ्ग नै छ ।

साइनोको परिचय
‘साइनो’ साइनु शब्दकै पर्यायमा प्रयुक्त नेपाली शब्द हो । नेपाली शब्दकोशले साइनुको अर्थ सम्बन्ध, नातागोता तथा साहिनुका रूपमा उल्लेख गरेको देख्न सकिन्छ । साहिनु वा साहिनोले जन्म, गोत्र तथा कुटुम्बको सम्बन्धबाट बन्ने नाता, साइनु नातो भन्ने अर्थ व्यक्त गरेको पाइन्छ । नेपाली नाताबोधक साइनो, सैना आदि शब्दहरू व्यवहारिक जीवनमा अझै पनि प्रचलित रहेको देखिन्छ । नाता, सम्बन्ध, मित्रता, समभाव, समन्वयकै तात्पर्यमा कविताको सूक्ष्म रूपलाई ‘साइनो’ नामकरण गरी प्रयोगमा ल्याइएको पाइन्छ । साइनोको नामकरण गर्ने विषयमा यसका जन्मदाता छायादत्त न्यौपाने ‘बगर’ र साहित्यकार केशव ज्ञवालीको परामर्शबाट टुङ्गो लागेको कुरा पनि उल्लेख पाइन्छ । यही साइनो कविताको छोटो संरचना, सङ्गठन, विचार अनि व्यङ्ग्यार्थपरक पहिचानका साथमा साहित्यिक अभिव्यक्तिको प्रभावशाली माध्यम बनेको पाइन्छ । अहिले धेरै सर्जकहरू साइनोतर्फ आकर्षित भएर लागेको देख्न सकिन्छ ।साइनो सामाजिक सञ्जालबाट यत्रतत्र फैलिन गई यसैबाट साहित्यिक साइनोको सञ्जाल निर्माण हुन पुगेको अनुभव हुन्छ । यसलाई प्रविधिमैत्री साहित्यको उपलब्धीका रूपमा पनि लिन सकिन्छ । नेपाली भूगोलभित्र जन्मिएको आफ्नैपन र सुगन्धलाई प्रवाहित गर्ने विशेषता बोकेको अभिव्यक्ति विशेषका रूपमा पनि यसलाई लिन सकिन्छ ।

संरचनागत ढाँचा
साइनोको संरचनागत ढाँचालाई हेर्दा यो मूलतः हाइकुबाट प्रभावित देखिन्छ । त्रिपंक्तीय संरचनामा प्रचलित हाइकुको साधनाका पृष्ठभूमिमा यसको निर्माण भएको मान्न सकिन्छ । पाँच–सात–पाँच गरी कुल सत्र अक्षरको हाइकु संरचनाबाट तन्किएर सात–आठ–नौ अक्षरको कुल चौबीस अक्षरीय संरचनामा साइनो प्रचलनमा आएको छ । अहिले नेपाली साहित्यमा मूलतः कविताका क्षेत्रमा नवीन ढाँचा र रूपका संरचनाको प्रयोग व्यापक रूपमा भएको देख्न सकिन्छ । यस्ता नवनव प्रयोगको पृष्ठभूमिलाई हेर्दा साइनोलाई अगुवा अभियानका रूपमा हेर्न सकिन्छ । हाइकु, छेस्का, बाछिटाभन्दा साइनो स्थूल संरचनागत ढाँचा र विचार प्रवाहका दृष्टिले पनि केही फराकिलो दायरा बोकेको अभिव्यक्ति कलाको माध्यम बनेको मान्न सकिन्छ । साइनोमा आउने त्रिपंक्तीय संरचना र तिनमा समेटिन आउने अक्षर सङ्ख्यालाई विविध बिम्ब र अर्थका तहमा प्रकाश पारिएको देख्न सकिन्छ । सोही पृष्ठभूमिमा साइनोले समेट्ने विषय क्षेत्रका साथै यसले व्यक्त गर्ने ध्वन्यार्थ प्रकट भएको पाइन्छ । तीन पंक्तिमा संरचित हुनु, यस्ता तीन पंक्तिहरू आफैमा अर्थपूर्ण संरचनाका रूपमा प्रकट हुनु अनि समग्र तीन पंक्तिभित्रका कुल चौबीस अक्षरबाट खास सिङ्गो भाव वा विचारलाई सम्प्रेषण गर्नसक्नुलाई यसको सफलता मान्न सकिन्छ । भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक, आदि क्षेत्रका बिम्ब–प्रतीक र सङ्केतहरूको प्रयोगले साइनोको कला पक्षलाई झल्काउने गरेको पाइन्छ । नाता वा सम्बन्धवाचक शब्दका रूपमा प्रयुक्त साइनोमा जीवन–जगतका यावत् कुराहरू विषयवस्तुका रूपमा चयन हुनसक्ने देखिन्छ । सात, आठ र नौ अक्षरले खास सांस्कृतिक अर्थगत मान्यता र मर्मलाई सङ्केत गर्ने कुरा पनि स्रष्टाहरूले उल्लेख गरेको पाइन्छ ।

शैलीशिल्पगत सौन्दर्य
साहित्यिक अभिव्यक्तिको प्रमुख कडी भनेकै त्यसले व्यक्त गर्ने कलात्मकता र हार्दिकता नै हो । छन्द, अलङ्कार, ध्वनि, वक्रोक्ति, बिम्ब, प्रतीक आदि जस्ता कुराले साहित्यिक अभिव्यक्तिलाई कलात्मक तुल्याउनुका साथै प्रभावकारी बनाएको पाइन्छ । यस पृष्ठभूमिबाट हेर्दा साइनो सघन सूत्रात्मक ढाँचामा बाँधिई खास विषय समस्या र मर्मलाई सशक्त रूपमा ध्वनित गर्ने प्रवृत्तिका कारण यो उत्तरोत्तर लोकप्रियताको बाटोमा अगाडि बढेको पाइन्छ । साहित्यमा प्रयुक्त हुन आउने बिम्ब, प्रतीक र अलङ्कार जस्ता कुराले साहित्यिक अभिव्यक्तिलाई पृथक् र विशिष्ट तुल्याएको पुष्टि हुन आउँछ । साइनोको प्रमुख पहिचान भन्नु नै यसमा समेटिने बिम्ब र तिनको ओजपूर्ण प्रस्तुति नै हो । यसका साथै शब्दालङ्कार अनि अर्थालङ्कारको प्रयोगले साइनोलाई गेयात्मक र लयात्मक तुल्याउनुका साथै श्रुतिमधुर तुल्याएको पाइन्छ । अहिलेसम्म भएका अभ्यासहरू र प्रयोगको अवस्थालाई हेर्दा साइनोहरू लयात्मक अनि मुक्त लयात्मक दुवै प्रकृतिबाट रचना भएको पाइन्छ । कविताकै सूक्ष्म भेदअन्तर्गत पर्ने हुनाले गेयात्मकता र लयात्मक प्रवाहमा निर्मित हुनु यसको नैसर्गिक प्रकृति नै मान्नुपर्दछ । अर्को सत्य के पनि देखिन्छ भने मुक्तलयमा निर्मित साइनोहरूमा बिम्ब–प्रतीक आयोजनाका साथै ओजपूर्ण शैलीशिल्पको पाटोृ सशक्त बनेर आएको कुरा पनि उत्तिकै यथार्थ रहेको छ । प्रारम्भिक अवस्थालाई हेर्दा हाइकुकै प्रभावमा अनुप्रासमुक्त साइनोको रचनातर्फ स्रष्टाहरू बढी आकृष्ट रहेको देख्न सकिन्छ तर पछिल्लो अवस्थालाई साक्षात्कार गर्दा अनुप्रास योजना र अझ अन्त्यानुप्रासतर्फको मोह स्रष्टाहरूमा बढ्दै गएको देख्न सकिन्छ । सूक्ष्म संरचनामा बाँधिनु, सघन प्रस्तुतिका साथमा समाजमा व्याप्त रूपमा रहेका विकृति विसङ्गतिलाई मर्ममा पुग्ने गरी प्रहार गर्नका लागि साइनो उपयुक्त अस्त्र नै बनेको अनुभव हुन्छ । आवश्यकता र औचित्यका आधारमा पंक्तिका अन्त्यमा र मूलतः तेस्रो पंक्तिको अन्त्यमा विराम चिह्नको प्रयोग गरिनु सान्दर्भिक मानिन्छ । अभिव्यक्तिलाई जीवन्त तुल्याउन सन्दर्भअनुकूल उखान–टुक्का, पारिभाषिक शब्दावली, सूक्तिमय भाषा र निपातको प्रयोग पनि अनुकूल मानिन्छ तर सिर्जनाको मौलिकतालाई स्रष्टा स्वयंले हेक्का राख्नु राम्रो हुन जान्छ ।

साइनोको प्रवृत्ति र प्रभाव
तीनवटा पंक्तिपुञ्जमा निर्मित सात–आठ–नौ गरी कुल चौबीस अक्षरका सीमाभित्र रहेर पंक्तिगत स्वतन्त्र अर्थका साथै सिङ्गो संकथनद्वारा ध्वन्यार्थ प्रकट गराउन सक्नु नै साइनोको खास प्रकृति र प्रवृत्ति रहेको देखिन्छ । साइनो प्रकृति, जीवन, समाज, संस्कृति, राजनीति, इतिहास, प्रेम–प्रणय, राष्ट्रिय गरिमा, जातीय गौरव आदि सेरोफेरोमा केन्द्रित भई रचिएको पाइन्छ । एकातिर कलात्मक सौन्दर्यको उद्घाटन गराउनुका साथै अर्कोतिर समाज तथा राष्ट्रमा भित्रिएका विकृति, विसङ्गति र अकमण्र्यता जस्ता कुराहरूलाई थिलोथिलो पार्ने गरी प्रहार गर्नु नै यसको प्रमुख प्रवृत्ति रहेको पाइन्छ । समाजका असङ्गतिमाथि प्रहार गर्ने मात्र नभई सुधारात्मक परिष्कार र निर्माणका स्वरहरू पनि प्रच्छन्न रूपमा अभिव्यक्त भएर आउनु साइनोको विशेषता नै मान्नुपर्दछ । सानो संरचनामा बाँधिनु, पाठकको ध्यान तान्न सक्नु, सटीक रूपमा विषयको उठान गरी चुरो मर्मलाई उद्घाटन गराउनु, व्याजस्तुतिमय शैलीमा समाजमा मक्किएर रहेका व्यवहार तथा प्रवृत्तिमाथि प्रहार गरी खबरदारी गर्नु, असल संस्कृति र आचरण निर्माणमा जोड दिनु, रोचक र घोचक पाराले विषयको गम्भीरतालाई खोल्स्याउनु, नेपालीपन र परिवेशको दिग्दर्शन गराउनु, कलात्मक सौन्दर्यका साथमा विविध रसको आस्वादन गराउनु आदि जस्ता प्रवृत्तिका कारण साइनो अहिले लोकप्रिय अभिव्यक्तिको माध्यम बन्न गएको पाइन्छ । सूक्ष्म आयाम, चुस्त अभिव्यक्ति शैली, तत्क्षण सिर्जना गर्न सकिने सहजता, तत्काल पाठकलाई आकर्षित गर्न सक्ने खुबी, समस्यालाई झल्काउन सक्ने कला नै यसको लोकप्रियताका आधार रहेको स्पष्ट हुन्छ ।

साहित्य सिर्जना जति रूपमा समाजका सरोकारमा केन्द्रित हुन सक्यो त्यति रूपमा त्यसको प्रभाव देखिने गर्छ । दुई वर्षको छोटो समयमा साइनो निकै चर्चा र प्रयोगमा आएको पाइन्छ । समाजका ज्वलन्त विषयलाई तत्क्षण उठान गरी सरोकारवालाको ध्यानाकृष्ट गर्ने प्रवृत्तिका कारण पनि समाजमा यसको प्रभाव बढ्दै गएको पाइन्छ । अहिले साइनो नेपाली भाषामा मात्र नभई संस्कृत, अङ्ग्रेजी, हिन्दी, थारू, मैथिली, नेवारी, मगरीलगायतका भाषामा सिर्जना हुनु पनि यसको प्रभाव र लोकप्रियताका रूपमा लिन सकिन्छ । नेपाली भूगोलभित्र मात्र नभई संसरमा छरिएर रहेका नेपालीहरू साइनो सिर्जनातर्फ आकर्षित हुनुले पनि यसको भविष्य उज्यालो र सुखद रहेको देख्न सकिन्छ ।

निष्कर्ष
साइनो नाता सम्बन्धलाई झल्काउने विशिष्ट शब्द हो । नेपाली कविताको सूक्ष्म भेदका रूपमा जन्मिएको सिर्जनालाई साइनो नामकरण गरी प्रयोगमा ल्याइएको छ । साइनोतर्फ अभिमुख भई सामाजिक सञ्जालमा जोडिएका स्रष्टाहरूको आत्मीय सम्बन्धलाई पनि साइनोले झल्काएको अनुभव हुन्छ । सात–आठ–नौ अक्षरका त्रिपंक्तीय आयाममा निर्मित साइनोले अहिले आफ्नो यात्राको दुई वर्ष पार गरेको छ । दोस्रो वार्षिकोत्सव मनाउने तयारीमा रहेको साइनो विचारको प्रस्तुतिका साथमा खास सन्देश प्रवाहित गर्नका लागि अनुकूल माध्यम बन्न गएको छ । साइनो सिर्जनाका आधादर्जन कृतिहरू प्रकाशन भइसकेका छन् ।

साइनो संसारको पेजमा धेरै स्रष्टाहरू जोडिई नियमित रूपमा साइनोहरू सम्प्रेषण गर्दै आएको पाइन्छ । अकोतिर साइनो सिर्जना र वाचनको अभियानमा लागेका सर्जकहरूले सञ्चालन गरेको लाइभ शृङ्खला सयौँ अङ्कमा प्रवेश गर्न लागेको अवस्थालाई पनि सुखद पक्षका रूपमा लिन सकिन्छ । साइनोका सम्बन्धमा विविभध टिप्पणी र प्रतिक्रियाहरू आउनु पनि स्वाभाविक हो । यसको सिर्जनामा लागेका स्रष्टाहरूको निरन्तर साधना, कलात्मक र ओजपूर्ण सौन्दर्यको प्रस्तुतितर्फको अभिरुचि, मानक भाषाको प्रयोग, कवित्व कलाको उपयोग जस्ता कुरामा ध्यान दिएका खण्डमा यसको भविष्य उज्ज्वल हुने देखिन्छ । यो कविताकै सूक्ष्म रूप भएकाले कवित्व कला र गुणका दृष्टिले यसलाई जीवन्त बनाउनु स्रष्टाहरूको जिम्मेवारी हो । अभिधाका तहमाभन्दा लक्षणा र अझ व्यञ्जनाका तहमा विचारलाई ध्वनित गर्न सकेमा यसको कलात्मक सौष्ठव अझ चुलिँदै जाने देखिन्छ । वर्तमान व्यस्त समयमा छोटा र तिख्खर प्रकृतिका रचनाहरू पाठकका रोजाइमा पर्ने हुनाले पनि साइनोको भविष्य सुनौलो रहेको स्पष्ट हुन्छ । अन्त्यमा साइनोको दोस्रो वार्षिकोत्सवका अवसरमा सम्पूर्ण सर्जक, पाठक र शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना ।

 

वि.सं.२०७८ साउन १६ शनिवार ०९:२६ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...