१८ साउन, काठमाडौं । म्याद गुज्रेका कस्मेटिक्स सामानमा नयाँ मिति राखी बिक्री गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।
करिब २ करोड मूल्य बराबरको सामान सहित उनीहरुलाई काठ्माडौंबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–१३ घर भई काठमाडौंको छाउनी बस्ने ३१ वर्षीय अबिनाष अग्रवाल र भारत राजस्थान सिकर घर भई सानो भर्याङ बस्ने ४१ वर्षीय महाबिर गजुर रहेका छन् ।
उनीहरुले पुराना सामानमा नयाँ स्टिकर राखी बिक्री गरेको आरोपमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै, काठमाडौं सानो भर्याङस्थित समिट कमर्सियल प्रालिले भाडामा लिएको घरबाट करिब १ करोड रुपैयाँ बराबरको पुराना सामानमा नयाँ स्टिकर टाँसी बजार पठाउनका लागि तयारी गरी राखेको सामान र भोटेबहालको गोदामबाट १ करोड रुपैयाँ बराबरको म्याद गुज्रेका अन्य कस्मेटिक सामानहरु गरी २ करोड मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको हो ।
उनीहरुलाई अनुसन्धान तथा कारवाहीका लागि बाणिज्य तथा उपभोक्ता हित संरक्षण बिभाग बबहरमल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ साउन १८ सोमवार १५:०५ मा प्रकाशित





























