२६ साउन, काठमाडौँ । नेपाल बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर ललितपुर महानगरपालिकाको परिसर भित्र संचालनमा आएको छ ।
काउन्टरको उद्घाटन गर्दै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नेपालको जेठो नगरपालिका हाल महानगरपालिका र नेपालको जेठो तथा पहिलो बैंक भएर पनि ग्राहकको सेवामा मन जित्दै गएको नेपाल बैंक लिमिटेडले महानगर परिसर भित्रै आएर सेवा दिन थालेकोमा बैंकलाई आभार व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा एक्स्टेन्सन काउण्टर सञ्चालन र महानगरका २९ वटै वडाहरुबाट राजस्व संकलन गर्ने सम्बन्धी सम्झौतामा महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र नेपाल बैंक लिमिटेड ललितपुर शाखाका शाखा प्रबन्धक किरण डंगोलले हस्ताक्षर गरे ।
महानगर उपप्रमुख गीता सत्यालले नेपाल बैंक महानगरपालिकसँग सहकार्य गरी डिजिटल बैकिङ्ग सुविधाद्वारा सेवाग्राहीहरुलाई आगामी दिनमा आधुनिक बैकिङ्ग सेवा दिनुपर्ने बताइन् । नेपाल बैंक लिमिटेड प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालको पहिलो र्बैकले डिजिटल बैकिङ्ग द्धारा डिजिटल नेपाल बनाउन पछि नपर्ने तथा सेवाग्राहीहरुको माग र समय सापेक्ष आफ्नो सेवा प्रदान गर्ने बताए ।
वि.सं.२०७८ साउन २६ मंगलवार १६:०९ मा प्रकाशित





























