back
CTIZAN AD

यसरी गर्न सकिन्छ फोहरमैला व्यवस्थापन र वातावरण संरक्षण

वि.सं.२०७८ भदौ ८ मंगलवार

8K 

shares

घर, टोल सफा भए मन सफा हुन्छ । फोहोर व्यवस्थापन भए रोग पनि व्यवस्थापन हुन्छ । हाम्रो घर परिवार, बजार, उद्योग र सार्वजनिक क्षेत्रबाट उत्पन्न हुने फोहोर सामान्यतया ९५ प्रतिशत प्रशोधन गरी आम्दानीको स्रोत बनाउन सकिने प्रकृतिका हुन्छन् भने करिब ५ प्रतिशतलाई मात्र बिसर्जन गर्नुपर्ने हुन्छ । यसरी उत्पन्न हुने फोहोरमैलालाई स्रोतमै विभिन्न रंगका बास्केट वा डस्टविन राखेर वर्गीकरण गर्न सकिन्छ । आफ्नो गाउँ र नगरपालिका भित्रबाट उब्जिने कुनैपनि फोहोरमैलालाई स्रोतबाटै विभिन्न बास्केट एवम् ढ्वाङ्गमार्फत वर्गीकरण, संकलन र उचित व्यवस्थापन गर्नुपर्दछ । थप प्राविधिक एवम् बैज्ञानिक दक्ष जनशक्ति र उच्च प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्नु त छँदैछ । त्यसबाहेक आफ्नै घर, परिवार, टोल, अफिस र वातावरणका फोहोरमैलालाई स्थानीय तहसँग समन्वय गरेर आधारभूत व्यवस्थापन गर्न आजैबाट शुरु गर्नुपर्दछ ।
फोहरमैला वर्गीकरण
फोहोरमैला वर्गीकरण गर्दा व्यवस्थापन गर्न सहजताको आधारमा मुख्यत: ठोस र तरल पदार्थ नै रहेका हुन्छन् ।
क.ठोस :
हाम्रो वातावरणबाट उत्पादन हुने ठोस फोहरको स्रोतबाटै वर्गिकरण गरेर आधुनिक प्रविधिमार्फत प्रशोधन गरी पुनः उपयोग र बिसर्जन गर्नुपर्दछ । ठोस फोहोरलाई मुख्य रुपमा चार प्रकारले विभाजन गर्न सकिन्छ ।
१. जैविक
२. अजैविक
३. मिश्रित
४. घातक
१. जैविक : मानव स्वास्थ्य एवम् प्राणी जगतलाई घातक नहुने र सहजै सड्ने÷गल्ने एवम् प्राङगारिक÷कम्पोष्ट मल हुने जैविक पदार्थहरू यस भित्र पर्दछन् । यस्ता फोहोरलाई प्रशोधन गरेर इन्धन, मल र दाना उत्पादन गरेर फोहोरलाई मोहोरमा परिणत गर्न सकिन्छ ।
२. अजैविक : सहजै नसड्ने नगल्ने प्रकृतिका अजैविक पदार्थहरू तथा फोहोरमैला कवाडी समानहरू यस बर्ग भित्र पर्दछन । प्लास्टिक, धातु, शिशा, कागज÷कार्ड बोर्ड, काठका टुक्राहरू, झुत्रा कपडा र अन्य अवर्गिकृत तर नघातक (सिमेन्ट, ईटाको टुक्रा या अन्य) प्रशोधन गरी पुनः प्रयोग गर्न सकिनेलाई प्रशोधन गर्ने र प्रशोधन गर्न नसकिनेलाई केमिकल जाम गरी बिल्डिंग ब्लक बनाउने र त्यो पनि नसके उचित स्थानमा बिसर्जन गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
३. मिश्रित : नघातक तर एक भन्दा बढी प्रकृतिको फोहोर मिश्रित भएको स्रोतबाट छुट्टयाउन कठीन भएको फोहोरमैला यसभित्र पर्दछन् । घर परिवार एवम् स्रोतबाट वर्गिकरण गर्न नसके पनि उच्च प्रविधिको प्रयोग गरेर फोहोरमैला प्रशोधन केन्द्रमा यस्ता फोहोर–मैलालाई वर्गिकरण र प्रसोधन गर्नुपर्दछ ।
४. घातक : प्राणी जगतलाई घातक हुने ब्याट्री, गिला ब्याट्री, बारुद, ड्रग, खतरनाक रासायनिक पदार्थ, निडल, प्राणघातक सरुवा एवम् आणविक पदार्थ, बिषादी आदिलाई स्रोतबाटै वर्गीकरण गर्दा अन्य फोहोरमैलासँग मिसाउनु हुँदैन । नसड्ने, नगल्ने र सहजै पुनः प्रशोधन गर्न कठीन हुने खतरनाक वस्तुलाई बैज्ञानिक ढङ्गबाट व्यवस्थापन तथा बिसर्जन गर्नुपर्दछ ।
ख.तरल :
हाम्रो वातावरणबाट उत्पादन हुने तरल फोहरको आधुनिक प्रविधिमार्फत तरल पदार्थलाई वर्गीकरण गरी ढल व्यवस्थापन, ढल निकास र शुद्धिकरण गर्न सकिन्छ । तरल पदार्थलाई तीन समूहमा वर्गीकरण गर्न सकिन्छ ।
१. फोहोर पानी
२. तेलजन्य चिल्लो पदार्थ
३. रासायनिक एवम् पेट्रोलियम पदार्थ
अधिकांश चर्पीबाट उत्पन्न हुने फोहोरलाई बिशेष प्रविधिमार्फत मल र ग्यास उत्पादन गर्दा आर्थिक लाभ प्राप्त गर्न सकिन्छ भने ढल निकासलाई सिधै नदीमा मिसाउने प्रवृत्तिलाई अन्त्य गर्नु अत्यन्तै जरुरी छ । बस्तिको तल्लो इलाकामा ढलको पानी छानेर ठोसलाई मल बनाउनेः हानिकारक केमीकल पदार्थ र तरललाई प्रशोधन गरी निकास गर्ने । यसै गरी वातावरणबाट निस्कने ढललाई प्रशोधन गरेर मात्र निकास दिनु पर्दछ ।

ल्यान्डफिल्ड साइटको व्यवस्थापन
हरेक गाउँमा होस् या शहरमा, फोहोर व्यवस्थापन गर्नै पर्दछ । घर, टोल अनि बजार जतासुकैबाट होस् संकलित फोहोरमैलालाई स्रोतबाटै संकलन र वर्गीकरण गरेपनि प्रशोधन र व्यवस्थापन गर्नको निमित्त वस्तीबाट अलग्गै ल्यान्डफिल साइटको व्यवस्था गर्नुपर्दछ । फरक–फरक प्रकृतिका फोहोर व्यवस्थापन गर्न फरक–फरक प्रविधिको आविष्कार भएका छन् । ल्यान्डफिल साईटहरू बनाई फोहोरलाई मोहोर बनाउने उद्यमको रुपमा व्यवसायिकता सिर्जना गर्ने पद्धति निर्माण गर्नुपर्दछ ।

सार्वजनिक शौचालयको उपलब्धता
गाउँ/नगरको हरेक सार्वजनिक क्षेत्र तथा सर्वसाधारणको बढी आवत जावत र जम्मा हुने ठाउँमा कम्तिमा एउटा सार्वजनिक शौचालयको व्यवस्था हुनु अनिवार्य छ । हरेक गाउँ र नगरपालिका इलाकालाई खुल्ला दिशा पिसाबमुक्त बनाएर वातावरण सफा राख्नु सबै नागरिकको कर्तव्य हो । सार्वजनिक सौचालयबाट पनि मिथेन ग्याँस उत्पादन गर्न सकिन्छ्र । साथै दिगो सञ्चालनको निमित्त अति न्यून शुल्क निर्धारण गरेर त्यहाँबाट भएको आम्दानीले सरसफाइ र दिगो व्यवस्थापन गर्न सम्भव होस् ।

Polluted slum area near sacred Bagmati river in Kathmandu, Nepal,Asia

एकपल्ट सोचौँ ‘ ‘के म समस्याको कारक हुँ या समाधानको ?’ के हामीले हाम्रो नागरिक नैतिक जिम्मेवारी पूरा गरेका छौँ त ?
दुवै फोटोहरू नदीका किनारमा बसाइएको सहरबाट लिइएको हो । माथीको फोटो हामीले हाम्रो राजधानी काठमाडौँबाट बहने बागमती नदी र शहर व्यवस्थापनको हो, भने तलको फोटोमा हाम्रो निकट छिमेकी मुलुक भुटानको राजधानी शहर थिम्पुबाट बहने थिम्पु चु(थिम्पु नदी) र शहरको व्यवस्थापनको हो । के फरक छ त ? हो, फरक छ त केवल विवेक र व्यवस्थापनको । अनि समस्या र समस्या समाधान गर्ने पद्धतिको ।
बहन गर्नुपर्ने हाम्रा व्यक्तिगत, पारिवारिक र सामुदायिक दैनिक कर्तब्यहरू :
– आफ्नो घर बगैचाको जैविक फोहरलाई घरमा नै कम्पोष्ट गरी मल बनाउने ।
– हाम्रो घर/व्यवसायबाट उत्पन्न भएका फोहोरलाई स्रोतबाटै वर्गीकरण गर्ने ।
– अजैविक फोहरहरू जस्तै (धातु, प्लाष्टिक, कागज, शिशा) आदिलाई छुट्टै व्यवस्थापन गर्ने ।
–  किनमेल गर्न बजार जाँदा प्लाष्टिक झोलाको साटो कपडाको झोला प्रयोग गर्ने ।
– नगरपालिका तथा सामुदायिक समूहहरूले सञ्चालन गरेका वातावरणीय तथा सरसफाई सम्बन्धी कार्यक्रमहरूलाई सक्रिय रुपले समर्थन गरी सहभागी बन्ने ।
– आफ्नो घर वरीपरी फूल बगैंचा तथा बोटविरुवा रोप्ने र त्यसको संरक्षण गर्ने ।
– आफ्नो सास्कृतिक सम्पदाको संरक्षण र स्याहार गर्ने ।
– आफ्नो टोल फोहरमैला मुक्त बनाउने ।
– पानीको मुहान तथा स्रोतमा फोहोरमैला हुन नदिने ।
– विभिन्न चेतनामुलक कार्यक्रमहरू आयोजना गर्ने ।
– फोहोरमैला व्यवस्थापनका लागि आवश्यक साधन÷जनशक्ति व्यवस्था गर्ने ।
– फोहोरबाटै मोहोर निकाल्न सकिने गरी आर्थिक क्रियाकलाप सिर्जना गर्ने ।
– फोहोर व्यवस्थापन गर्ने उत्प्रेरणा प्रदान गर्न उत्कृष्ट काम गर्नेलाई पुरस्कारको प्रबन्ध गर्ने ।
– फोहोर व्यवस्थापन असहयोगीलाई दण्डको व्यवस्था गर्ने ।
– खतराजन्य फोहरका लागि छुट्टै रातो भाडोमा राखी बैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्ने ।
– स्वास्थ्य संस्थाहरूबाट उत्पादन हुने मेडिकलजन्य फोहर केमिकल, सुई, खतराजन्य एवम् मानवीय पदार्थलाई विशेष पृथक ढङ्गबाट दहन एवम् व्यवस्थापन गर्ने ।
– निश्चित क्षेत्र तोकी ल्यान्डफिल साईट एवम् फोहोर प्रशोधन केन्द्रको व्यवस्थापन गर्ने ।
– क्षेत्र विशेषज्ञको सहयोग लिएर आवश्यक प्रक्रिया अनुसार व्यवस्थापन गर्ने ।
– टोलटोलमा वातावरण सुधार समूहहरू गठन गरी वातावरण सुधारको कार्यक्रम सञ्चालन गर्ने ।
– विविध जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने ।
– सार्वजनिक निजी साझेदारी अवधारणामा निजी क्षेत्रको सहभागिताका लागि जोड दिने ।
– आफ्नो क्षेत्रलाई खुला दिशा/पिसाब मुक्त क्षेत्र बनाउने ।

वातावरण संरक्षण :
फोहोरमैला व्यवस्थापनका साथै हाम्रो वातावरणको गुणस्तर सुधार गर्नु हामी सबैको कर्तव्य हो । हाम्रो गाउँ र नगरपालिका क्षेत्रभित्र हुने वन एवम् वन्यजन्तु विनाशलाई रोकेर वृक्षारोपण एवम् हरित क्रान्ति गर्नु अत्यावश्यक छ । प्राकृतिक संसाधनको प्रयोग पुनर्नविकरण गर्न सकिने हदसम्म पुनर्नविकरण गराउने संयन्त्र स्थापना गर्नुपर्दछ । जुन प्राकृतिक संसाधनहरूको भण्डारण रित्तिने सम्भावना हुन्छ, त्यस्ता प्राकृतिक संसाधनको सकेसम्म कम प्रयोग गर्न स्थानीयवासीलाई चेतनशील बनाउनु आवश्यक हुन्छ । आफ्नो गाउँ र नगरपालिका क्षेत्रभित्र जैविक विविधता संरक्षण तथा व्यवस्थापन गर्न विशेष रणनीति अबलम्बन गरेर निश्चित क्षेत्रमा किल्ला तोकी संरक्षित क्षेत्रको व्यवस्थापन गर्नुपर्छ । सम्भावित वन विनास, भू–क्षय, डढेलो नियन्त्रणको निमित्त विशेष कार्यक्रम तयार गरी स्थानीयलाई नै जिम्मेवार बनाउनु पर्दछ । हाम्रो वातावरणमा हुन सक्ने जमिन, हावापानी र ध्वनीको प्रदुषणलाई समयमै नियन्त्रण गरी आफ्नो र सन्ततिको भबिष्य सुन्दर र स्वस्थ्य बनाउन तथा वातावरण संरक्षण गर्न हामी आफैं जिम्मेवार बन्नु पर्दछ ।

हरित पेटिका निर्माण र यसको संरक्षणः
समृद्ध मुलुकहरूमा बाटोघाटो निर्माण गर्दाको सडकको दायाँबायाँको केही भाग खुला हरितपेटिका (मध्यवर्ती क्षेत्र) छाडिन्छ । हामीले पनि आफ्नो गाउँ र नगरपालिका ईलाका भित्र विकास निर्माण र औद्योगीकरणका क्रममा जति पनि नयाँ संरचना निर्माण गरिन्छ हरेक ठाउँमा प्रशस्त खुल्ला हरितपेटिका र सम्भव भएसम्म फूल तथा बोटबिरुवा लगाएर वातावरण जोगाउन सकिन्छ । यसैगरी मुख्य एवम् सहायक राजमार्ग तथा स्थानीय बाटोघाटो बनाउँदा सडक किनारमा प्रशस्त वृक्षारोपण गर्नुपर्छ । सम्भव भएसम्म मध्यवर्ती क्षेत्र र हरित पेटिका निर्माण गर्नुपर्दछ । यस्ता हरित पेटिकाले हाम्रो वातावरण स्वास्थ्य, सफा तथा सुन्दर बनाउन र दिगो विकास गर्नको निमित्त ज्यादै ठूलो काम गर्दछन् ।

बृहत जिम्मेवारी :
पृथ्वी हामी सबैको साझा घर हो । हाम्रो साझा घरलाई जोगाउनु हामी सबैको कर्तव्य हो । सामाजिक सद्भाव बढाउने क्रियाकलाप र हाम्रो वातावरण मैत्री व्यवहारले यो साझा घरलाई जोगाउन सकिन्छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । हाम्रो दैनिक व्यवहारमा सामाजिक मानवीय सहअस्तित्व र सम्पूर्ण प्राणी जगतको सहअस्तित्व स्वीकार गर्न सक्नु नै यसको समाधान हो । पहिलो पक्ष हो सामाजिक सद्भाव बढाउनु । जुन स्तरको सामाजिक सद्भाव खलल हुन्छ, त्यहि स्तरको घातक हातहितयार, खतरनाक केमिकल, आणविक विषाक्त प्रयोग हुन्छन् । द्वन्द्व, युद्ध र विनाश हुन्छ । चाहे स्थानीय समाज होस, चाहे क्षेत्रीय समाज होस्, चाहे राष्ट्रिय समाज होस् या अन्तर्राष्ट्रिय समाज होस्, सोही अनुसारको सामाजिक सद्भाव सिर्जना गर्न नेतृत्वदायी उदाहरण दिन जरुरी छ भने वातावरणमैत्री व्यवहार उत्तिकै जरुरी छ। आधुनिकीकरण र औद्योगीकरणको नाउँमा हाम्रो वातावरणलाई घात पुग्ने बिषादी तथा केमिकलको प्रयोग गर्नु, पर्यावरणीय÷ओजोन तह क्षयीकरण गर्नु, प्राकृतिक संसाधनको विनास गर्नु, वातावरणीय गुणस्तरमा ह्रास आउनु, फोहोरमैला उचित व्यवस्थापन गर्न नसक्नु जस्ता मुख्य कारक तत्वहरू हुन् । समयमा नै आफ्नो घर, टोल, समाज, राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणीय मैत्री (Eco Friendly) व्यवहार गर्न गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ ।

प्रस्तुत विचार काफ्लेको ‘मृद्ध नेपालको मार्गचित्र’ पुस्तकबाट लिइएको हो । तस्विरहरु सामाजिक गुगलबाट लिइएको हो ।

वि.सं.२०७८ भदौ ८ मंगलवार १५:२८ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...