घर, टोल सफा भए मन सफा हुन्छ । फोहोर व्यवस्थापन भए रोग पनि व्यवस्थापन हुन्छ । हाम्रो घर परिवार, बजार, उद्योग र सार्वजनिक क्षेत्रबाट उत्पन्न हुने फोहोर सामान्यतया ९५ प्रतिशत प्रशोधन गरी आम्दानीको स्रोत बनाउन सकिने प्रकृतिका हुन्छन् भने करिब ५ प्रतिशतलाई मात्र बिसर्जन गर्नुपर्ने हुन्छ । यसरी उत्पन्न हुने फोहोरमैलालाई स्रोतमै विभिन्न रंगका बास्केट वा डस्टविन राखेर वर्गीकरण गर्न सकिन्छ । आफ्नो गाउँ र नगरपालिका भित्रबाट उब्जिने कुनैपनि फोहोरमैलालाई स्रोतबाटै विभिन्न बास्केट एवम् ढ्वाङ्गमार्फत वर्गीकरण, संकलन र उचित व्यवस्थापन गर्नुपर्दछ । थप प्राविधिक एवम् बैज्ञानिक दक्ष जनशक्ति र उच्च प्रविधिको प्रयोग गरेर व्यवस्थापन गर्नु त छँदैछ । त्यसबाहेक आफ्नै घर, परिवार, टोल, अफिस र वातावरणका फोहोरमैलालाई स्थानीय तहसँग समन्वय गरेर आधारभूत व्यवस्थापन गर्न आजैबाट शुरु गर्नुपर्दछ ।
फोहरमैला वर्गीकरण
फोहोरमैला वर्गीकरण गर्दा व्यवस्थापन गर्न सहजताको आधारमा मुख्यत: ठोस र तरल पदार्थ नै रहेका हुन्छन् ।
क.ठोस :
हाम्रो वातावरणबाट उत्पादन हुने ठोस फोहरको स्रोतबाटै वर्गिकरण गरेर आधुनिक प्रविधिमार्फत प्रशोधन गरी पुनः उपयोग र बिसर्जन गर्नुपर्दछ । ठोस फोहोरलाई मुख्य रुपमा चार प्रकारले विभाजन गर्न सकिन्छ ।
१. जैविक
२. अजैविक
३. मिश्रित
४. घातक
१. जैविक : मानव स्वास्थ्य एवम् प्राणी जगतलाई घातक नहुने र सहजै सड्ने÷गल्ने एवम् प्राङगारिक÷कम्पोष्ट मल हुने जैविक पदार्थहरू यस भित्र पर्दछन् । यस्ता फोहोरलाई प्रशोधन गरेर इन्धन, मल र दाना उत्पादन गरेर फोहोरलाई मोहोरमा परिणत गर्न सकिन्छ ।
२. अजैविक : सहजै नसड्ने नगल्ने प्रकृतिका अजैविक पदार्थहरू तथा फोहोरमैला कवाडी समानहरू यस बर्ग भित्र पर्दछन । प्लास्टिक, धातु, शिशा, कागज÷कार्ड बोर्ड, काठका टुक्राहरू, झुत्रा कपडा र अन्य अवर्गिकृत तर नघातक (सिमेन्ट, ईटाको टुक्रा या अन्य) प्रशोधन गरी पुनः प्रयोग गर्न सकिनेलाई प्रशोधन गर्ने र प्रशोधन गर्न नसकिनेलाई केमिकल जाम गरी बिल्डिंग ब्लक बनाउने र त्यो पनि नसके उचित स्थानमा बिसर्जन गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
३. मिश्रित : नघातक तर एक भन्दा बढी प्रकृतिको फोहोर मिश्रित भएको स्रोतबाट छुट्टयाउन कठीन भएको फोहोरमैला यसभित्र पर्दछन् । घर परिवार एवम् स्रोतबाट वर्गिकरण गर्न नसके पनि उच्च प्रविधिको प्रयोग गरेर फोहोरमैला प्रशोधन केन्द्रमा यस्ता फोहोर–मैलालाई वर्गिकरण र प्रसोधन गर्नुपर्दछ ।
४. घातक : प्राणी जगतलाई घातक हुने ब्याट्री, गिला ब्याट्री, बारुद, ड्रग, खतरनाक रासायनिक पदार्थ, निडल, प्राणघातक सरुवा एवम् आणविक पदार्थ, बिषादी आदिलाई स्रोतबाटै वर्गीकरण गर्दा अन्य फोहोरमैलासँग मिसाउनु हुँदैन । नसड्ने, नगल्ने र सहजै पुनः प्रशोधन गर्न कठीन हुने खतरनाक वस्तुलाई बैज्ञानिक ढङ्गबाट व्यवस्थापन तथा बिसर्जन गर्नुपर्दछ ।
ख.तरल :
हाम्रो वातावरणबाट उत्पादन हुने तरल फोहरको आधुनिक प्रविधिमार्फत तरल पदार्थलाई वर्गीकरण गरी ढल व्यवस्थापन, ढल निकास र शुद्धिकरण गर्न सकिन्छ । तरल पदार्थलाई तीन समूहमा वर्गीकरण गर्न सकिन्छ ।
१. फोहोर पानी
२. तेलजन्य चिल्लो पदार्थ
३. रासायनिक एवम् पेट्रोलियम पदार्थ
अधिकांश चर्पीबाट उत्पन्न हुने फोहोरलाई बिशेष प्रविधिमार्फत मल र ग्यास उत्पादन गर्दा आर्थिक लाभ प्राप्त गर्न सकिन्छ भने ढल निकासलाई सिधै नदीमा मिसाउने प्रवृत्तिलाई अन्त्य गर्नु अत्यन्तै जरुरी छ । बस्तिको तल्लो इलाकामा ढलको पानी छानेर ठोसलाई मल बनाउनेः हानिकारक केमीकल पदार्थ र तरललाई प्रशोधन गरी निकास गर्ने । यसै गरी वातावरणबाट निस्कने ढललाई प्रशोधन गरेर मात्र निकास दिनु पर्दछ ।
ल्यान्डफिल्ड साइटको व्यवस्थापन
हरेक गाउँमा होस् या शहरमा, फोहोर व्यवस्थापन गर्नै पर्दछ । घर, टोल अनि बजार जतासुकैबाट होस् संकलित फोहोरमैलालाई स्रोतबाटै संकलन र वर्गीकरण गरेपनि प्रशोधन र व्यवस्थापन गर्नको निमित्त वस्तीबाट अलग्गै ल्यान्डफिल साइटको व्यवस्था गर्नुपर्दछ । फरक–फरक प्रकृतिका फोहोर व्यवस्थापन गर्न फरक–फरक प्रविधिको आविष्कार भएका छन् । ल्यान्डफिल साईटहरू बनाई फोहोरलाई मोहोर बनाउने उद्यमको रुपमा व्यवसायिकता सिर्जना गर्ने पद्धति निर्माण गर्नुपर्दछ ।
सार्वजनिक शौचालयको उपलब्धता
गाउँ/नगरको हरेक सार्वजनिक क्षेत्र तथा सर्वसाधारणको बढी आवत जावत र जम्मा हुने ठाउँमा कम्तिमा एउटा सार्वजनिक शौचालयको व्यवस्था हुनु अनिवार्य छ । हरेक गाउँ र नगरपालिका इलाकालाई खुल्ला दिशा पिसाबमुक्त बनाएर वातावरण सफा राख्नु सबै नागरिकको कर्तव्य हो । सार्वजनिक सौचालयबाट पनि मिथेन ग्याँस उत्पादन गर्न सकिन्छ्र । साथै दिगो सञ्चालनको निमित्त अति न्यून शुल्क निर्धारण गरेर त्यहाँबाट भएको आम्दानीले सरसफाइ र दिगो व्यवस्थापन गर्न सम्भव होस् ।

एकपल्ट सोचौँ ‘ ‘के म समस्याको कारक हुँ या समाधानको ?’ के हामीले हाम्रो नागरिक नैतिक जिम्मेवारी पूरा गरेका छौँ त ?
दुवै फोटोहरू नदीका किनारमा बसाइएको सहरबाट लिइएको हो । माथीको फोटो हामीले हाम्रो राजधानी काठमाडौँबाट बहने बागमती नदी र शहर व्यवस्थापनको हो, भने तलको फोटोमा हाम्रो निकट छिमेकी मुलुक भुटानको राजधानी शहर थिम्पुबाट बहने थिम्पु चु(थिम्पु नदी) र शहरको व्यवस्थापनको हो । के फरक छ त ? हो, फरक छ त केवल विवेक र व्यवस्थापनको । अनि समस्या र समस्या समाधान गर्ने पद्धतिको ।
बहन गर्नुपर्ने हाम्रा व्यक्तिगत, पारिवारिक र सामुदायिक दैनिक कर्तब्यहरू :
– आफ्नो घर बगैचाको जैविक फोहरलाई घरमा नै कम्पोष्ट गरी मल बनाउने ।
– हाम्रो घर/व्यवसायबाट उत्पन्न भएका फोहोरलाई स्रोतबाटै वर्गीकरण गर्ने ।
– अजैविक फोहरहरू जस्तै (धातु, प्लाष्टिक, कागज, शिशा) आदिलाई छुट्टै व्यवस्थापन गर्ने ।
– किनमेल गर्न बजार जाँदा प्लाष्टिक झोलाको साटो कपडाको झोला प्रयोग गर्ने ।
– नगरपालिका तथा सामुदायिक समूहहरूले सञ्चालन गरेका वातावरणीय तथा सरसफाई सम्बन्धी कार्यक्रमहरूलाई सक्रिय रुपले समर्थन गरी सहभागी बन्ने ।
– आफ्नो घर वरीपरी फूल बगैंचा तथा बोटविरुवा रोप्ने र त्यसको संरक्षण गर्ने ।
– आफ्नो सास्कृतिक सम्पदाको संरक्षण र स्याहार गर्ने ।
– आफ्नो टोल फोहरमैला मुक्त बनाउने ।
– पानीको मुहान तथा स्रोतमा फोहोरमैला हुन नदिने ।
– विभिन्न चेतनामुलक कार्यक्रमहरू आयोजना गर्ने ।
– फोहोरमैला व्यवस्थापनका लागि आवश्यक साधन÷जनशक्ति व्यवस्था गर्ने ।
– फोहोरबाटै मोहोर निकाल्न सकिने गरी आर्थिक क्रियाकलाप सिर्जना गर्ने ।
– फोहोर व्यवस्थापन गर्ने उत्प्रेरणा प्रदान गर्न उत्कृष्ट काम गर्नेलाई पुरस्कारको प्रबन्ध गर्ने ।
– फोहोर व्यवस्थापन असहयोगीलाई दण्डको व्यवस्था गर्ने ।
– खतराजन्य फोहरका लागि छुट्टै रातो भाडोमा राखी बैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्ने ।
– स्वास्थ्य संस्थाहरूबाट उत्पादन हुने मेडिकलजन्य फोहर केमिकल, सुई, खतराजन्य एवम् मानवीय पदार्थलाई विशेष पृथक ढङ्गबाट दहन एवम् व्यवस्थापन गर्ने ।
– निश्चित क्षेत्र तोकी ल्यान्डफिल साईट एवम् फोहोर प्रशोधन केन्द्रको व्यवस्थापन गर्ने ।
– क्षेत्र विशेषज्ञको सहयोग लिएर आवश्यक प्रक्रिया अनुसार व्यवस्थापन गर्ने ।
– टोलटोलमा वातावरण सुधार समूहहरू गठन गरी वातावरण सुधारको कार्यक्रम सञ्चालन गर्ने ।
– विविध जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने ।
– सार्वजनिक निजी साझेदारी अवधारणामा निजी क्षेत्रको सहभागिताका लागि जोड दिने ।
– आफ्नो क्षेत्रलाई खुला दिशा/पिसाब मुक्त क्षेत्र बनाउने ।
वातावरण संरक्षण :
फोहोरमैला व्यवस्थापनका साथै हाम्रो वातावरणको गुणस्तर सुधार गर्नु हामी सबैको कर्तव्य हो । हाम्रो गाउँ र नगरपालिका क्षेत्रभित्र हुने वन एवम् वन्यजन्तु विनाशलाई रोकेर वृक्षारोपण एवम् हरित क्रान्ति गर्नु अत्यावश्यक छ । प्राकृतिक संसाधनको प्रयोग पुनर्नविकरण गर्न सकिने हदसम्म पुनर्नविकरण गराउने संयन्त्र स्थापना गर्नुपर्दछ । जुन प्राकृतिक संसाधनहरूको भण्डारण रित्तिने सम्भावना हुन्छ, त्यस्ता प्राकृतिक संसाधनको सकेसम्म कम प्रयोग गर्न स्थानीयवासीलाई चेतनशील बनाउनु आवश्यक हुन्छ । आफ्नो गाउँ र नगरपालिका क्षेत्रभित्र जैविक विविधता संरक्षण तथा व्यवस्थापन गर्न विशेष रणनीति अबलम्बन गरेर निश्चित क्षेत्रमा किल्ला तोकी संरक्षित क्षेत्रको व्यवस्थापन गर्नुपर्छ । सम्भावित वन विनास, भू–क्षय, डढेलो नियन्त्रणको निमित्त विशेष कार्यक्रम तयार गरी स्थानीयलाई नै जिम्मेवार बनाउनु पर्दछ । हाम्रो वातावरणमा हुन सक्ने जमिन, हावापानी र ध्वनीको प्रदुषणलाई समयमै नियन्त्रण गरी आफ्नो र सन्ततिको भबिष्य सुन्दर र स्वस्थ्य बनाउन तथा वातावरण संरक्षण गर्न हामी आफैं जिम्मेवार बन्नु पर्दछ ।
हरित पेटिका निर्माण र यसको संरक्षणः
समृद्ध मुलुकहरूमा बाटोघाटो निर्माण गर्दाको सडकको दायाँबायाँको केही भाग खुला हरितपेटिका (मध्यवर्ती क्षेत्र) छाडिन्छ । हामीले पनि आफ्नो गाउँ र नगरपालिका ईलाका भित्र विकास निर्माण र औद्योगीकरणका क्रममा जति पनि नयाँ संरचना निर्माण गरिन्छ हरेक ठाउँमा प्रशस्त खुल्ला हरितपेटिका र सम्भव भएसम्म फूल तथा बोटबिरुवा लगाएर वातावरण जोगाउन सकिन्छ । यसैगरी मुख्य एवम् सहायक राजमार्ग तथा स्थानीय बाटोघाटो बनाउँदा सडक किनारमा प्रशस्त वृक्षारोपण गर्नुपर्छ । सम्भव भएसम्म मध्यवर्ती क्षेत्र र हरित पेटिका निर्माण गर्नुपर्दछ । यस्ता हरित पेटिकाले हाम्रो वातावरण स्वास्थ्य, सफा तथा सुन्दर बनाउन र दिगो विकास गर्नको निमित्त ज्यादै ठूलो काम गर्दछन् ।
बृहत जिम्मेवारी :
पृथ्वी हामी सबैको साझा घर हो । हाम्रो साझा घरलाई जोगाउनु हामी सबैको कर्तव्य हो । सामाजिक सद्भाव बढाउने क्रियाकलाप र हाम्रो वातावरण मैत्री व्यवहारले यो साझा घरलाई जोगाउन सकिन्छ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । हाम्रो दैनिक व्यवहारमा सामाजिक मानवीय सहअस्तित्व र सम्पूर्ण प्राणी जगतको सहअस्तित्व स्वीकार गर्न सक्नु नै यसको समाधान हो । पहिलो पक्ष हो सामाजिक सद्भाव बढाउनु । जुन स्तरको सामाजिक सद्भाव खलल हुन्छ, त्यहि स्तरको घातक हातहितयार, खतरनाक केमिकल, आणविक विषाक्त प्रयोग हुन्छन् । द्वन्द्व, युद्ध र विनाश हुन्छ । चाहे स्थानीय समाज होस, चाहे क्षेत्रीय समाज होस्, चाहे राष्ट्रिय समाज होस् या अन्तर्राष्ट्रिय समाज होस्, सोही अनुसारको सामाजिक सद्भाव सिर्जना गर्न नेतृत्वदायी उदाहरण दिन जरुरी छ भने वातावरणमैत्री व्यवहार उत्तिकै जरुरी छ। आधुनिकीकरण र औद्योगीकरणको नाउँमा हाम्रो वातावरणलाई घात पुग्ने बिषादी तथा केमिकलको प्रयोग गर्नु, पर्यावरणीय÷ओजोन तह क्षयीकरण गर्नु, प्राकृतिक संसाधनको विनास गर्नु, वातावरणीय गुणस्तरमा ह्रास आउनु, फोहोरमैला उचित व्यवस्थापन गर्न नसक्नु जस्ता मुख्य कारक तत्वहरू हुन् । समयमा नै आफ्नो घर, टोल, समाज, राष्ट्रिय र अन्तर्राष्ट्रिय वातावरणीय मैत्री (Eco Friendly) व्यवहार गर्न गराउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दछ ।
प्रस्तुत विचार काफ्लेको ‘मृद्ध नेपालको मार्गचित्र’ पुस्तकबाट लिइएको हो । तस्विरहरु सामाजिक गुगलबाट लिइएको हो ।
वि.सं.२०७८ भदौ ८ मंगलवार १५:२८ मा प्रकाशित
































