उनी आफ्नो मुल घरमा खुसी छन् । घर वरिपरिका बोट विरुवाहरुसँग उनको गहिरो नाता जोडिएको छ । घरका कुना–कुनाले उनलाई चिनेको छ । उनलाई लाग्छ स्थायी ठेगाना जन्मेको घर नै हो, त्यहि बस्ने हो त्यहि मर्ने हो । उनी यस कुरोमा ढुक्क छन् ।
समय वित्दै गयो । उनी अशक्त हुँदै गए । अब एक्लै बस्न नसक्ने भए । घरलाई सदाका लागि बिदा गर्नुपर्ने भयो । त्यो दिन पनि आइपुग्यो । लुकाफाटाका पोका समाएर उनी ढोका बाहिर आए ।
बाहिर उभिएर घरलाई हेरे । चारैतिर नजर दौडाए । फूलको बोटलाई हेरे । रुखहरु जहाँको त्यहि छन् । घरले पनि आफुलाई हेरिरहेको महसुस गरे । अनि कतैबाट सोधे झै लाग्यो ‘बुवा !, अब ठेगाना बदल्न लाग्नु भएको हो ?’
फेरि यताउता, चारैतिर हेरे उनले । घर, बोट अनि रुखहरु जहाँको त्यहि थिए । सबैलाई हेरे उनले ।
अनि मनमनै भने–तिमीहरुको स्थायी ठेगाना बदलिने छैन । तिमीहरु सधै यहि हुनेछौं । तर, अब म तिमीहरु सँग हुने छैन । तिमीहरुसँग नाता जोडिने छैन ।’
वि.सं.२०७८ भदौ १२ शनिवार ०७:२४ मा प्रकाशित






























