रातको एक बजेछ
हृदय र श्रृङ्गारको कसिमा चिनारीलाई सम्झिएँ
पटक पटक सम्झिएँ
तिमीले बिर्सियौ कि
मैले फेरि सम्झाएँ
अन्त खोज्नु पर्दैन
म सधैं
तिम्रो चिनारीका सौभाग्य स्रृङ्गारमा छु
नारीभरीका रङ्गिन चुराहरूमा छु
आँखाभरीको गाजलमा छु
तिमिले लगाएको पाउजुको सङ्गीतमा छु
तिम्रो गलाको पोतेमा छु
ओठको लालीमा छु
साईँली औंलामा टलक्क टल्किएको
औंठीको पत्थरमा छु
हुन त
चुरा पोते र औँठीमा जहाँ जहाँ म छु
ति सबै काँचका नै छन्
ति सबै रङ्गिविरङ्गि छन्
फुटेर धुलो हुन्छन्
सिँउदोको सिन्दूर र निधारको टिका
पखालिन सक्छन्
मसँग तिमीलाई चिनाउने
तिमीले पहिरिएकाजस्ता कुनै बाह्य बस्तु छैनन्
सजावट र श्रृङ्गारका सामान छैनन्
तर
तिमी सधैं
तिम्रा श्रृङ्गारका सामानभन्दा माथि छ्यौ
सबैभन्दा नजिक
हृदयको ढुकढुकीमा छ्यौ
रगत बगेका नसा नसामा छ्यौ
आँखाका दृश्टिमा छ्यौ
जो
म बाँचुन्जेल फुटेर सकिदैन
म बाँचुन्जेल पखालिएर जाँदैन
र
ति सबै चिज
काँच र पत्थरबाट बनेका पनि हैनन् ।
वि.सं.२०७८ भदौ १९ शनिवार ०८:३२ मा प्रकाशित






























