१.
जो घर भडुवा उही हुन्छ मुली हजुर
ठालु पल्टिन्छ जो कर्तव्य भुली हजुर ।
देख्नु भो नि क–कस्ले पदक पाए हिजो
चोरलाई चौतारो साधुलाई शूली हजुर।।
२.
स्वदेश भन्दा महान् त्यो परदेश हुन्न हजुर
परिस्थिति भन्दा अलग परिवेश हुन्न हजुर ।
आफ्ना कला संस्कृति मासी पाउनु छ के ?
अस्थित्व विहिन कुनै अवशेष हुन्न हजुर ।।
३.
कसैले भनोस् नभनोस् आफै मपाइँ हजुर
थाहै छ फेरिपनि बोकाले हुँदैन दाइँ हजुर ।
अलिकति देशको माया भैदिए कस्तोहुन्थ्यो
छ बाघको छालामा स्यालको रजाइँ हजुर ।।
४.
’हाम्रा’ मात्रै ’राम्रा’ ठान्ने कहिलेसम्म हजुर
चामल छोडी बियाँ छान्ने कहिलेसम्म हजुर ।
देशको हालत झन्झन् गिर्दो छ तलतल
आफ्ना छानी माथि तान्ने कहिलेसम्म हजुर ।।
५.
भरिएन भोको पेट, देख्छु रित्तो झोली हजुर
आश्वासनको पोको रैछ गुलियो बोली हजुर ।
बस्दाबस्दा पर्खाइमा आजित छन् सेवाग्राही
कुरा गर्छौ तातोतातो काम सधैँ भोलि हजुर ।।
वि.सं.२०७८ असोज ९ शनिवार ०७:४९ मा प्रकाशित






























