अकबरी यादहरुले
मनको दलिनमा धुँवासो लागेपछि
समयको लिस्नुका खुट्किलाहरु
पार गर्दै–गर्दै
आज दुई दशक पछि
सबै सबैले थकाइ मेट्ने
त्यो घुम्तीको चौतारीमा
ती पिपिरा तृष्णाहरुको तलतल मेट्न
म आइपुगें सखा !
वालापनको नियास्रो लागेर
लहलह आँपका मुजुराझै
कल्पनाका खुसी फूलाउदै
तीनै स्मृतिका आकृति खोज्दै–म
केराको पातझै ढल्पलिदै
त्यो गाँवैनिर आइपुगें सखा !
तिमी भेट्न आतुर मेरा नयन
त्यो गाँउको प्रवेश द्वारमा अडिए
तिमी सहिदको लामवद्द पंक्तिमा पो देखियौ
सूचनाको हकले पनि
बेहद सिमा नाघिसकेछ सखा !
भाग्य चक्रको घडीबाट
बल्ल तल्ल निकालेर केही निजी समय
मनभित्रको अजम्बरी मायासंग साक्षात्कार हुन्
बैकल्पिक खुसीका बन्धन चुँडाएर
तिम्रै पैतालाका डोव अन्दाज गर्दै
म त्यही घुम्तीको ओरालो
झर्दैछु सखा !
हिजो आज यहाँ
तिम्रो मेरो मायाको साँक्षी
त्यो गोरेटो छैन
गट्टा बटुल्ने बगर छैन
त्यो चौर, सालको वृक्ष छैन
तिमी भेट्न आतुर मेरा नयन
त्यो गाँउको प्रवेश द्वारमा अडिए
तिमी सहिदको लामवद्द पंक्तिमा पो देखियौ
सूचनाको हकले पनि
बेहद सिमा नाघिसकेछ सखा !
विगतका सम्झनाको फाटवारी लाउदै
वर्तमानमा मीठो संयोग जुराउन आएको–म
अब सबै स्मृतिका निशाना उक्काएर
तिम्रो सालिकको अर्ध कद
मुटुको कुन पत्रमा
कसरी कैद गरुँ
ए मेरो बाल सखा !!!?
वि.सं.२०७८ असोज ९ शनिवार ०७:५७ मा प्रकाशित






























