back
CTIZAN AD

पर्यटकलाई स्वागत गर्न भ्याइ नभ्याइ सिक्लेसका होटल व्यवसायी

वि.सं.२०७८ कात्तिक ९ मंगलवार

789 

shares

गण्डकी । कास्कीको पर्यटकीय गाउँ सिक्लेसस्थित होटेल सिक्लेस गेष्ट हाउसका सञ्चालक सुरेन्द्र गुरुङलाई असोजको दोस्रो सातायता पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ ।

कोरोना कहरका कारण लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न स्थानबाट पर्यटक आउन थालेसँगै यतिखेर यहाँका पर्यटन व्यवसायी हर्षित छन् ।

विभिन्न सङ्घ संस्थाका साथै व्यक्तिगत रुपमा आउने पर्यटकले सिक्लेसमा सञ्चालित २३ होटेल तथा २० होमस्टे प्रत्येक दिन भरिने गरेको उनले जानकारी दिए ।

महामारीबाट लामो समयसम्म घरमा नै रहन बाध्य मानिस यतिखेर प्रकृति र संस्कृतिले भरिएका गाउँठाउँमा पुग्ने गरेका कारण पर्यटकीय चहलपहल बढेको हो ।

पछिल्लो समय सिक्लेस कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । गुरुङ कला संस्कृतिको जीवन्त अनुभव गर्न पाइने समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको यो गाउँ लमजुङ हिमालको काखमा लुट्पुटिएको छ ।

वरिपरिको हरियो वनजङ्गलका कारण सिक्लेसमा चरा र वन्यजन्तुप्रेमी रमाउने गरेका छन् । यहाँबाट नजिकै देखिने लमजुङ हिमाल र अन्नपूर्ण दोस्रो हिमालले जो कोहीलाई लोभ्याउने गरेको छ ।

लगभग चार सय कुरिया घरधुरी रहेको सिक्लेस नेपालकै ठूलो गुरुङ गाउँ हो । यातायातका साधन हुँदै पोखराबाट लगभग चार घन्टाको यात्रामा पुग्न सकिने सिक्लेसमा ढुङ्गाले छाएको एवं छापिएको गुजुमुच्च तर अत्यन्त सफा र सुन्दर नमूना बस्ती देख्न पाइन्छ ।

स्थानीय जनताको जागरुकतासँगै सरसफाइमा निकै ध्यान दिइएका कारण बाटाघाटा तथा घर तथा चोकमा प्लास्टिक तथा कागज केही नभेटिनु यहाँको विशिष्टता हो ।

“दुसैँं सुरु हुनु अगावै असोजको दोस्रो साताबाट सिक्लेसमा पर्यटकको चाप बढेको छ”, सिक्लेस होटल व्यवसायी समितिका अध्यक्ष समेत रहेका गुरुङले भने, “त्यसयता यहाँका होटेल तथा होमस्टे सबै दिनहुँ पर्यटकले भरिएका छन् ।”

गुरुङ जातिको कला तथा संस्कृतिको जीवन्त सङ्ग्रहालय जस्तै बनेको यहाँबाट गुरुङ जातिको अन्तिम राज्य क्होलासोंथर एक दिनमा पुग्न सकिने भएका कारण पछिल्लो समयमा गुरुङ जातिको अध्ययन तथा अनुसन्धानका लागि पनि स्वदेशी एवं विदेशी अनुसन्धाता सिक्लेस आउने गरेका छन् ।

यहाँबाट कफुचे हिमतालका साथै कोरिसम्म पदयात्राका लागि पनि पर्यटक जाने गरको सिक्लेस युवा क्लबका पूर्व सचिव एवं सल्लाहकार देवीजङ गुरुङले जानकारी दिए ।

उनका अनुसार गुरुङ संस्कृतिको अध्ययनका लागि यहाँस्थित सिक्लेस ईको म्युजियम पनि महत्वपूर्ण गन्तव्य बनेको छ । म्युजियमका साथै गाउँको माथि रहेको पार्कमा पर्यटक रमाउने गरेको उनले जानकारी दिए ।

सङ्गहालयमा गुरुङ संस्कृतिको वेशभूषा, रहनसहन तथा परम्परालाई जीवन्त रुपमा झल्काउने सामग्री देख्न सकिन्छ । सङ्ग्रहालयमा सिक्लेस क्षेत्रमा पाइने अत्यन्त महत्वपूर्ण कुट्को, कुरिलो, सतुवा, विष, जटामसी, सिल्टीमुर, पाँचऔँले र यार्सागुम्बाजस्ता जडीबुटीका बारेमा यहाँ पुग्ने पर्यटकले अभिरुचिपूर्वक जानकारी लिने गरेका छन् ।

पर्यावरणीय संरक्षणका लागि सुमय समयमा हुने गरेका विभिन्न महोत्सवका कारण यहाँका स्थानीयवासीमा पर्यावरणलाई जोगाउनुपर्छ भन्ने भावना जगाएको पाइन्छ ।

सिक्लेसको कला, संस्कृति र प्रकृतिप्रति बढ्दै गएको पर्यटकीय आकर्षण र यहाँ पर्यटकको बसाइँलाई लम्ब्याउन गाउँमाथि निर्मित सिक्लेस पार्क पर्यटकको बसाइँ लम्ब्याउनका लागि बहुउपयोगी बनेको गुरुङले जानकारी दिए ।

सिक्लेसमा खान–बस्नका लागि स्थानीय बासिन्दाले सञ्चालन गरेका घरबास (होमस्टे) तथा होटल उपलब्ध छन् । होमस्टे सञ्चालकले यहाँ आउने पर्यटकलाई लक्षित गरी प्याकेज तय गरेको होमस्टे सञ्चालक पदम गुरुङले जानकारी दिए।

उनका अनुसार प्योकजमा साँझको खाजा, बेलुकाको खाना, बसाइँ र भोलिपल्ट बिहानको नास्ता तथा खानाका लागि ९०० रुपैयाँ निर्धारण गरिएको छ । पर्यटकले आवश्यक ठानेका अवस्थामा बेलुका सांस्कृतिक प्रस्तुति पनि रहने गुरुङले जानकारी दिए ।

पोखराबाट ४० किलोमिटर उत्तरमा रहेको सिक्लेसमा विगतमा पदयात्राबाटै मानिस पुग्ने गरे पनि अहिले पदयात्राका साथै हिँड्न नसक्ने गाडीबाट पुग्ने गरेका छन् ।

यहाँ जानका लागि काहुँ खोलामा जीप सहज रुपमा नै उपलब्ध हुन्छ । सवारी साधन हुँदै काँहुखोला, ढाडबेँसी, काभ्रेखोला, छाचोक, मेल्चो, थाक, तप्राङ, चिप्ली, पार्चे हुँदै सिक्लेस पुग्न सकिन्छ ।

यो गाउँ अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको घलेखर्क सिक्लेस ईको ट्रेक भित्र पर्दछ । कला संस्कृति बचाउनका लागि यहाँ गरिने मेला तथा महोत्सवमा लोपोन्मुख अवस्थामा रहेका लगभग चार दशकअघिसम्म प्रचलित खेल झिझिली, हेकुचे, घुर्राजस्ता खेलका प्रतियोगिता गराउने गरिएको छ ।

संस्कृतिकै निरन्तरतास्वरुप सूचना दिने प्राचीन प्रचलन कटुवाल घोकाउने प्रथा पनि सिक्लेसमा कायमै छ । लामो समयसम्म कोरोना प्रभावित पर्यटनमा असोज दोस्रो सातायता भएको पर्यटकको आगमनले सिक्लेसी पर्यटन व्यवसायीलाई उत्साहित बनाएको उनले जानकारी दिए ।
रासस

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १६:३४ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...