माथि बिहिबारे हाटबाट
बा र आमाले
किनमेल गरेर आएको भोलिपल्ट विहानै
काधँमा कल बोकेर हाम्रो आँगनमा
आइपुगेका सन्ते काकाले
हामी सबैलाई पालैपालो छेकेर
लुगा सिउन थाल्थे र पो
दशैँ आएजस्तो लाग्थ्यो ।
सूर्यले क्षितिजबाट चिहाउँनु अघि नै,
सिरान घरबाट आएको
भक्र्याङ भक्र्याङ ढीकीको आवाजले
बिउझाउँथ्यो र पो
दशैँ आएजस्तो लाग्थ्यो ।
ढीकीको आवाजलाई नटेरी
सुतेजस्तो गरेर
ओच्छ्यान नछोडेका बेला
आमाले आएर आज ननुँहाए त
अर्को जुनीमा बोको होइन्छ भन्दै
पधेँरातिर लखेट्नु हुन्थ्यो र पो
दशैँ आएजस्तो लाग्थ्यो ।
घरै पिच्छे वसाएको सालधुपको वासना,
अनि मधुर स्वरमा गुञ्जिएका
शप्तशतीका श्लोकहरु अनि
प्रत्येक घरमा पालैपालो बजेको
शंख र घण्टीको आवाजले
सिङ्गो गाउँलाई नै
रोमाञ्चित गरेको हुन्थ्यो र पो
दशैँ आएजस्तो लाग्थ्यो ।
सधैँ खेलेको आफ्नै आँगनबाट
आएको गोबरमाटोको बेग्लै महक
पिँडी र भित्ताहरुमा लगाएको
कमेरो र गेरुको बेग्लै चहकले
थोत्रो घरलाई पनि
नयाँ जस्तै बनाएको हुन्थ्यो र पो,
दशैँ आएजस्तो लाग्थ्यो ।
आँगनको माझमा
केराका पात ओच्छ्याएर
बा र काकाहरूले खसीको मासु
टुक्र्याइरहेका बेला
पानी उमालेको अँगेनुमा पोल्न हालेको
खसीको कान पुच्छरलाई
स साना टुक्रा पारी
बाँडीचुडी खाँदै रमाइन्थ्यो र पो
दशैँ आए जस्तो लाग्थ्यो ।
भान्साकोठाबाट भर्खर कुटेका
नयाँ चिउराको वास्ना आउँथ्यो अनि,
भडाँरकोठामा गोर्न राखेको
मलभोग केरा मग्मगाउँथ्यो र पो
दशैँ आएजस्तो लाग्थ्यो ।
आँगनको एकछेउमा
ठूलो खड्कुलामा पानी उम्लिरहेका वेला
‘लौ त्यो बाकटे पर्सि हाल त’ भन्दै
रगत लत्पतिएको दुइहात लामो
तरवार बोकेर डाडाँघरे खत्री काका
आँगनमा आइपुगेर
अझै सातघर भ्याउनु छ भन्दै
खसी काट्न हतार गर्थे र पो
दशैँ आए जस्तो लाग्थ्यो ।
आँगनको माझमा
केराका पात ओच्छ्याएर
बा र काकाहरूले खसीको मासु
टुक्र्याइरहेका बेला
पानी उमालेको अँगेनुमा पोल्न हालेको
खसीको कान पुच्छरलाई
स साना टुक्रा पारी
बाँडीचुडी खाँदै रमाइन्थ्यो र पो
दशैँ आए जस्तो लाग्थ्यो ।
तर अचेल,
न सन्ते काका लुगा सिँउन आउँछन्,
न त ढीकी नै भक्र्याङ भक्र्याङ गर्छ ।
न पधेँरामा नुहाउँनुपर्छ, न त
चिउरा र मालभोग केरा नै वसाउँछ ।
यो सिमेन्टको घरमा
न गोबरमाटोको बास्ना आउँछ,
न त खसी काट्न तरवार बोकेर कोही आउँछ,
त्यसैले आजभोली यो शहरमा
सबैले दशैँ आयो भन्दा त्यो वाल्यकालमा
खसीको कान र पुच्छर पोलेर खाएको
खुव याद आउँछ ।
वि.सं.२०७८ कात्तिक १३ शनिवार ०८:४९ मा प्रकाशित





























