कम्युनिस्ट के बन्दछौ तिमी ।
कर्ममा जहीँ भ्रष्ट छौ तिमी ।।
भ्रष्ट जो छ त्यो चोर भन्दछन् ।
राख्न बेर भो खोर भन्दछन् ।।०१।।
कर्ममा खुलोस् मानवीयता ।
लोकको बनोस् ग्राह्यशीलता ।।
हेर्छ जो उठी देवझैँ गनोस् ।
बन्नुपर्छ त्यै चेतले भनोस् ।।०२।।
कम्युनिष्टको जात मानव ।
मास्दछन् तिनै सान गौरव ।।
जातभातमा फस्दछन् तिनी ।
कर्म गर्दछन् दुष्ट निर्घृणी ।।०३।।
राष्ट्रवादको खोल ओढ्दछन् ।
देश काट्दछन् अर्थ जोड्दछन् ।।
कम्युनिस्टको खोलमा बसी ।
नक्कली कुरा फुक्दछन् कसी ।।०४।।
जातिमा जहीँ द्वन्द्व रोपिए ।
देशप्राणमा शूल घोपिए ।।
देशपुत्र हौ मान्नु के गरी ?
देश टोक्दछौ रुन्छ धर्धरी ।।०५।।
छन्द: द्रुता
वि.सं.२०७८ मंसिर ४ शनिवार ०६:४७ मा प्रकाशित






























