हातमा फूल, माला, अण्डा, नरिवल, तोरण, धूप, नैवेद्य, भेटी र जल लिएर म निकै लामो लाममा सहरको देवतालाई भेट्न लालायित भएर भीडमा उभिएको थिएँ । नजिकै डाँडा पाखा देखि सहरको देवताको आशीर्वाद लिन आएका भक्तालुहरू थिए । मेरो हातको पूजा सामग्री देखेपछि एक रूग्ण पालेले सोध्यो ।
‘हजुर पनि देवता दर्शन गर्न आएको ?
‘हो, इच्छाअनुसार आशीर्वाद लिन !’
उस्ले मलाई निकै चाकडी गर्याे । मेरो कालोचस्मा, टोपी, कोट, जुत्ता, घाँटीको टाई र कोट देखेपछि पाखेले फेरि सोध्यो ।
‘हजुर त सहरको देवता जस्तै देखिनुहुन्छ । मलाई लाममा अगाडि जान दिनुस न, हतार छ !’
मेैले पाखेहरूको दसा, दया, दुख र चेतना खुब पढेको थिएँ । मनमा करूणा पनि जागेर आयो । सम्झेँ ।
‘देवतालाई दर्शन गरेरै मात्रै के इच्छा पूरा होला र ? ठिकै छ जानुस न त !’
मेरो सद्भावमा कुनै छलछाम थिएन । दयाको भिक्षा माग्नेलाई क्षमा दिनु महापुरूषको आदर्श हो भन्ने लागेर उसलाई लामो लामबाट छिटोछिटो अगाडि जान छोडिदिएँ । उ निकै अगाडि पुगेर सहरको देवताको दर्शन गरेर निकै छिटो लाम बसिरहेको ठाउँमा आएर भन्यो ।
‘ओहो ! हजुर लाम बस्दाबस्दै थाक्नुभयो होला ! फूल प्रसाद र टीका यै लगाइदिन्छु ! देवताको दर्शनको ढोका अब त बन्द भयो ।’
मैले पाखे भनेर चिनेको त्यो भक्तालु निकै चलाख बनिसकेको झैं लाग्यो । त्यसैले चार घण्टादेखि हातमा पूजा सामग्री लिएर उभिएर टाढैबाट देवतालाई पुकारा गरेँ ।
बन्द भइसकेको मेरो सहरको देवतालाई सम्झेर पूजा सामग्री नजिकैको एउटा रातो दलेको ढुङ्गामा घोप्ट्याइदिएँ । सहरका मान्छेहरूले मलाई निकै चाख देखाएर सोधे ।
‘किन ? यहाँको देवताको दर्शन गर्न पाइनस् ?’
– चेतनाको मान्छे सहरको देवताछेउ फेरि पनि घुमिरहेको थियो । मैले सहरका मान्छेहरूलाई उत्तर दिएँ ।
‘सहरको टाई सुट र रातो ढुङ्गामा केही फरक रहेनछ !’
‘ओहो ! सहरको देवता किन ? निष्प्राण भए ?’
अर्काे दिन विहानको समय थियो । पीपलको बोटमा उभिएर पाखे खुब बर्बराउन थाल्यो ।
‘अबदेखि मै हो, सहरको देवता !’
सहरको मानिसमा आकस्मिक रूपमा स्वभाव परिवर्तन हुँदै गयो । उनीहरू सहरको देवताको अगाडि राखेको शेरदेखि आजित भएर खासखुस गर्न थाले !
‘गठेँचा वल !’
वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:३२ मा प्रकाशित






























