१
दुःखहरु हटाउन आफू घरको आधार हुनुपर्छ,
दिगो सम्बन्ध राख्न आफु सदाचार हुनुपर्छ ।
सत्यको अगाडि झुटको आयु छोटै हुन्छ बुझौं,
धेरै धोका खान त असल र इमान्दार हुनुपर्छ ।
२
सुन्दरताको सार बास्नादार फूलसंग मेल हुन्छ,
गुलिया मिठाई हुन् वा वचन भावनामा झेल हुन्छ ।
जिन्दगीले कतिबेला कति चोट खानुपर्ने हो,
कसरि बुझ्ने होला निर्मोहीको मायामा खेल हुन्छ ।
३
हुदैन कसैको मुटु सिसाले बनेको चर्कनै नसक्ने,
न त हुन्छ अटल हिमाल जस्तो कतै फर्कनै नसक्ने ।
फिजाएर त हेर आस्थारुपी गहना प्रेमका भावहरु,
हैन म त्यस्तो बितेको दिन–रात पर्खनै नसक्ने ।
४
लट्टा परेको कपालमा जुम्रा पर्दा सक्सकाउँछ,
चूलो बालेको प्वालमा भुस्सा भर्दा पत्पताउँछ,
हुर्हुराउदैछ क्रान्तिको ज्वाला ऊ हेर क्षितिजमा,
मरेका कङ्कालमा प्राण सर्दा उत्पात मचाउँछ ।
५
प्रेमको अर्थ थाहा नहुदा निदाउनुको स्वाद अर्कै थियो,
जोडेर नाता सम्बन्ध मुस्कुराउनुको स्वाद अर्कै थियो,
विस्वास निदाएर अहंकार हरु जन्मदै आएपछि,
आधा बाँचेर आधा रुवाउनुको स्वाद अर्कै थियोे ।
वि.सं.२०७८ मंसिर २५ शनिवार ०८:५४ मा प्रकाशित





























