गज्जब सुनिन्छ
बेलाबखतमा
अफवाहको हल्ला
ढोलकको धुन
कसरी बुझ्दछ यो दुनियाँ
सुँगापनि,
कहिले कागझैं बोल्छ
कहिले कोइलीझैं
सुन्नेहरु ! सुन्दछन् मात्र कि
बुझ्दछन् पनि कुन्नि !
घरीघरी गम्भीरताले च्यापिन्छु
घोत्लिन्छु उस्तै !
देखिन्छ बेलाबेलामा फलाम !
गलेको
मोडिएको
आकार लिएको
सम्झना छँदैछ
नदीले गन्तव्य मोडेको
नहिँडेकै बाटोको ठेसलेपनि दुखाउँछ
छाँयाले पोल्छ
रापले सित्तलता दिन्छ
ढुंगा बोल्छ
मान्छे मौन रहन्छ
यहाँ गज्जब अभिनय चल्छ
देखिरहँदा दुनियाँको थरिथरिका नाटक
आफ्नै सोझोपनाले मलाई जिस्काईरहन्छ
ब्यक्ति विशेषको ढोलक नबजाउने
ईसारामा ननाच्ने
सिकाइएका गीत नगाउने
म पिन्जडा बाहिरको सुगा
दुनियाँको नजरमा
अति !
अति सस्तो छु
भन न देउता !
तिम्रा नजरमा कस्तो छु ।
राधा पाण्डे,गैंडाकोट न.पा.नवलपुर
वि.सं.२०७८ पुस २४ शनिवार ०८:५१ मा प्रकाशित




























