back
CTIZAN AD

कविता: हलो लिएर प्रदर्शन गर्नेछु …

वि.सं.२०७८ माघ २९ शनिवार

1.6K 

shares

वैशाख र जेठको
टण्टलापुर घाममा
ह ..ह तारे,
ह..ह माले भन्दै
झुले, माले र तारेलाई नार्दै
पहाड र मधेशका
कुना कुनासम्म
हलो कुदाउँदै
पाखा–पखेराभरि
कल्कलाउँदा

खाउँ खाउँ भैहाल्ने
कालो जुँगा र धान चमरा भएका
मठारिएका लामा र पुड्के मकैलाई
उमारेर उकेरा लगाउँदै
भालु, बँदेल, बाँदर, खरायो,
सुगा र हात्तीहरूको प्रकोपबाट
दिन–रात थकाइ नमारीकन
हुर्काएको मैलै हो ।

फाटेको पानी गन्जी मात्र लगाएर
पसिना पुछ्दै, झिंगाहरू पन्छाउँदै
असारको हिलो, साउनको
झरि र भदौको भेलमा धरि
अलिकति पनि झिँझो र झंझट नमानी
पाखा र टारभरि
हरिया धानका गराहरूको निर्माण गर्दै
कंचञ्जङ्घाको काख सजाएको पनि
मैले नै हो ।

टारीखेतमा लहलह
झुलेका सुनका बाला
अनि कान्ला–करेंसा र कोठेबारीमा
सयपत्री फुलाउँदै
पाखैभरि पहेंलपुर सुन्तला फलाएर
प्रकृतिको मनोरम छवि हेर्न आतुर पार्दै
हिमालयलाईसम्म हेममय बनाउँदै
डाँडा–काँडाभरि घाम छरेर
धर्तीमा उज्यालो ल्याएको पनि मैलै हो ।

काली,पुँडी,सुन्तली,
ठेउकी र तारीहरूको हाँच लिई
लेक–बेँसी गर्दै कुरुवा, मानु, हर्पे
र ठेकीभरि दूध, दही र घीउको
भण्डार भरी,
पहाड़–मधेश र तराईको
शोभा बढ़ाउँदै
डोका–नाम्ला, थुन्से, घुम, डाला,
नाङ्ला,मान्द्रा, गजरा र पीरा लगायत
तमाम साज–सज्जाहरूको निर्माण गर्दै
गाउँ–बस्तीभरि आफ्नोपनको सृजना गरी
साँस्कृतिक सभ्यताको रक्षा गरेको पनि मैले नै हो ।

ज–जल्ले मेरो
परिश्रम र पसिनाका रचनाको
उपभोग गरी
पुरस्कारको सूचीमा
नक्कली कविहरूको मात्र नाम लेखेका हुनेछन्,
तिनीहरूको तत्काल प्रतिवाद गर्नेछु
अनि
असली रचनाको सम्मानका लागि
आवाज बुलन्द गर्नेछु ।
शहरभरि–गाउँभरि
कोदालो–बन्चरो र हलो
लिएर प्रदर्शन गर्नेछु ……..

करेला, काँक्रो, बीँ,अदुवा,
अलैंची, फापर, कोदो,
गहुँ,धान,मकै र तमाम
खाद्य पदार्थहरूको उत्पादन गर्दै
चराचर जगतको पेट भरेर
उत्तिस, बकाइँनो, पाड़री,
चिलाउने, गोब्रे, खरी,
बडर, कुटमिरो र दुधे
लगायत अनेकौं
बिरुवाहरू हुर्काई
गाई, गोरु, चौंरी, भैसी,
कुक्कुर, सुँगुर, कुखुरा,
बिराला र परेवाहरूको पालन गर्दै
धर्तीका शोभाको विस्तार गरेको पनि मैलै हो ।

साँच्चै भन्नु हो भने
खोला–नाला,पहाड़–पर्वत,
तराई, मधेश र हिमालका
अनेकौं प्रकृतिका विधाहरूको
सुरक्षा र विकासमा
मेरा नङहरू खिएका छन् ।
मेरा हात र खुट्टाहरू बाङ्गिएका छन् ।
मेरो रगत र पसिनाले
यो देश र धर्ती सिँगारिएको छ ।
यो मेरो धर्ती र देशको पसिनाको रचना हो ।
यो मेरो देशको सुन्दर र सत्यताको कविता हो ।
यो मेरो जिन्दगीको खण्डकाव्य र महाकाव्य हो ।
हिजो–आज धेरैले जिन्दगीको
कविता लेख्न छोडेर सहरमा बसेर
काल्पनिक कविता लेख्न थालेका छन्,
तिनीहरूले सरकारबाट
थुप्रै सहुलियत र पुरस्कार पाएर
मेरो उपेक्षा गर्न लागिपरेका छन् ।
यो क्रम यसै रीतले चलिरह्यो भने
मेरो व्यवस्थाले मेरो उपेक्षा गरी
नक्कली कवि र कलाकारहरूलाई
मात्र पुरस्कृत ग¥यो भने
म कोदालो र बन्चरो
लिएर शहर जानेछु ।
ज–जल्ले मेरो
परिश्रम र पसिनाका रचनाको
उपभोग गरी
पुरस्कारको सूचीमा
नक्कली कविहरूको मात्र नाम लेखेका हुनेछन्,
तिनीहरूको तत्काल प्रतिवाद गर्नेछु
अनि
असली रचनाको सम्मानका लागि
आवाज बुलन्द गर्नेछु ।
शहरभरि–गाउँभरि
कोदालो–बन्चरो र हलो
लिएर प्रदर्शन गर्नेछु ……..

 

कनकधारा स्वामी स्वदेशानन्द
गान्तोक, सिक्किम

 

वि.सं.२०७८ माघ २९ शनिवार ०८:३६ मा प्रकाशित

फोनको घण्टी

फोनको घण्टी

बस्, अहिले त एउटा घरको कोठामा बैश सकिएका श्रीमान् र...

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...