चियाउँदै छु म
ताल र पाताल खोजेर
आफ्नै जमिनमाथि
छिराएर आफ्नो छायाँ
जहाँ आफूभरिको निराशा
पखाल्न चाहन्छु म
बगैँचाको फाँटमा
वरिपरिको काँठमा
फुलेका फूलहरूको
परागसँग साटेर आफ्नो सुन्दरता
पगाल्न लोभिन्छु म
निलो आकाशमुनि
दिनभरिको क्षितिज साँचेर
पहाडको रङसित पौडिन्छु म
आफ्नो उभार उचाल्न प्रति रात
यसरी नै दौडिन्छु म ।
तापिलो सूर्यसँग एक्लै दिनभर
खुलिरहनु भन्दा
असङ्ख्य तारामण्डलको माझमा
सितलता पोख्न रातैपिच्छे हाँस्ने
चन्द्र वदनको चन्द्रहार
नियालेर बस्छु म
जसलाई रातको चकमन्नतामा
सुस्तरी सुस्तरी बेसरमको मुहार
बोकेर आएको देख्छु म
सुगन्धित बास्नामा रमाउने
रजनीगन्धा मिसाएर
नितान्त आफ्नै शयनकक्षमा
हर्हराउँदै लुट्पुटिन्छु म ।
उघारेर झ्याल र ढोका
ब्युँझिएर माझ निद्राबाट
फूलको गुच्छा अर्पिदै
सुस्वागतम् बोल्न चाहन्छु म
सुशान्त रातसँगै
अँगालोमा बेरिएको बग्रेल्ती भावनामा
जेलिएको अनुपम रात
धीत मरुन्जेल उघाउँदा पनि
अघाउँदै नअघाएको हुन्छु म ।
पदम दाहाल, सङ्खुवासभा, मादी
हालः लोकन्थली, भक्तपुर
वि.सं.२०७८ माघ २९ शनिवार ०८:३८ मा प्रकाशित






























