१
तिम्रो हातको सिरानी होस् अरू चाहिँदैन
ब्युँझिदा नयाँ बिहानी होस् अरू चाहिँदैन ।
तिम्रा ओठका लाली फुलून् यी गालाभरि
हाम्रो मायाको निसानी होस् अरू चाहिँदैन ।
२.
पात त्यसै सुन्दर लाग्छन् हुँदा फूल सङ्गै
गल्तीहरू फिका लाग्छन् मिठो भुल सङ्गै ।
एक हातले ताली हैन चुट्की बज्छ प्रिय
फक्रिनेछ हाम्रो माया तिम्रो कबुल सङ्गै ।
३.
पर्दैन ऐना हेर्न तिम्रा नजर भए पुग्छ
मनको बस्ती बसाउने सहर भए पुग्छ ।
इशारा काफी लाग्छन् भन्न माया गर्छु
एकार्कामा पिरतीको असर भए पुग्छ ।
४.
लोभी छन् आँखाहरू चस्मा दोषी हुन्छ
मायामा हराउनेकै ज्यादा बेहोसी हुन्छ ।
अधर सुख्खा सहारा मरुभूमि बनिदिँदा
याद गर मायालुको नयनमा रोशी हुन्छ ।
५.
तिम्रो दिलको दैलो खोली घर बसाउँछु
गाउँ जस्तै सुन्दर यौटा सहर बसाउँछु ।
मायाको फराकिलो राजमार्ग बन्नु अघि
साँघुरो नै किन नहोस्, डगर बसाउँछु ।
उत्तम ‘विचार’, टोखा, काठमाडौं
वि.सं.२०७८ माघ २९ शनिवार ०८:४२ मा प्रकाशित






























