काठमाडौं । जारी रुस–यूक्रेन युद्धका बीच महाशक्ति राष्ट्रहरुबीच तेल युद्ध सुरु भएको छ । अमेरिकाको मुख्य भूमिकामा तेल युद्धको सुरु भएको हो । तेल र ग्यासलाई केन्द्रीत बनाइ सुरु गरिएको युद्धले विश्वलाई नै संकट तर्फ उन्मुख गराउने संकेत देखिएको छ ।
रुससँग आक्रोशित अमेरिकाले रुसबाट आयात हुने तेल र ग्यासमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । अर्कोतर्फ बेलायतले पनि आगामी दिनमा रुसी तेल खरिद रोक्ने घाेषणा गरेकाे छ । युरोपेली संघले रुसबाट आयात हुने तेलमा कटौती गर्ने निर्णय गरेको छ । विशेष कुरा के छ भने यो कदम रुसले जारी गरेको चेतावनीपछि उठाइएको हो, जसमा रुसको पुटिन सरकारले तेलको व्यापारमा प्रतिबन्ध लगाएमा युरोपेली देशको ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएकाे छ।
युक्रेनबाट कडा प्रतिबन्ध लगाउने माग गरेपछि अमेरिकाको पछिल्लाे निर्णयबाट रुस पुरै स्तब्ध छ । अमेरिकाले रुसबाट तेल, ग्यास र कोइला आयातमा पूर्ण प्रतिबन्ध लगाएकाे छ । अमेरिकाको अडानलाई समर्थन गर्दै बेलायतले पनि यसै वर्षको अन्त्यसम्ममा रुसी तेलबाट मुक्त हुने निर्णय गरेको हाे । युरोपेली संघले रुसी ग्यास आयातमा दुई तिहाई कटौती गरेको छ ।
रुसी अर्थतन्त्रका लागि तेल र ग्यास निकै महत्वपूर्ण रहेको बताइन्छ । रुसमाथि दबाब दिन अमेरिका र युरोपेली देशहरूले यस्तो कदम चालिरहेका छन् । यसै क्रममा बेलायती सरकारले यो अवधिमा आपूर्तिको वैकल्पिक स्रोत फेला परेपछि रुसको तेल नलिने बताएको छ ।
रुसको तेलमा प्रतिबन्ध लगाउने अमेरिका र युरोपेली संघको यो निर्णयपछि विश्व बजारमा निकै नराम्रो असर पर्ने देखिएको छ । विश्वभर तेल र ग्यासको मूल्य बढिरहेको रसियाले निर्यातमा प्रतिबन्ध लगाएमा यी वस्तुको मूल्यमा थप गुणात्मक बृद्धि हुने अनुमान गरिएको छ । तेल र ग्याँसको मूल्यमा गुणात्मक बृद्धि भएमा त्यसले विश्वभर अत्यावश्यक वस्तुको मूल्यमा थप वृद्धि गराउने निश्चित छ ।
रसिया विश्वको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो
रसिया विश्वको तेस्रो ठूलो तेल उत्पादक राष्ट्र हो। योभन्दा अगाडि अमेरिका र साउदी अरेबिया आउँछन् । रुसले दैनिक ५० लाख ब्यारेल कच्चा तेल उत्पादन गर्छ । त्यसमध्ये आधाभन्दा बढी युरोपमा जान्छ।
बेलायतले आफ्नो तेल खपतको आठ प्रतिशत रुसबाट आयात गर्छ। तर, अमेरिका रुसमा त्यति निर्भर छैन र सन् २०२० मा अमेरिकाले आफ्नो कुल तेल खपतको तीन प्रतिशत मात्र रुसबाट आयात गरेको थियो ।
ओपेक देशहरूमा ६० प्रतिशत तेल
साउदी अरेबिया ओपेक राष्ट्रहरू मध्ये सबैभन्दा ठूलो तेल उत्पादक हो। ओपेक तेल उत्पादक देशहरूको संगठन हो। अमेरिकाले पनि साउदी अरबलाई केही समयदेखि तेल उत्पादन बढाउन निरन्तर आग्रह गर्दै आएको छ । तर, साउदीले अहिलेसम्म तेलको मूल्य घटाउन उत्पादन बढाउन अस्वीकार गर्दै आएको छ ।
रुस ओपेक राष्ट्रहरूको सदस्य होइन। तथापी, सन् २०१७ देखि रुसले ओपेकसँग तेल उत्पादनको सीमा तोक्न काम गरिरहेको छ । जसले गर्दा उत्पादकहरूको आम्दानी स्थिर रहन्छ। अर्कोतर्फ अमेरिकाले भेनेजुएलामाथि लगाएको तेल प्रतिबन्धलाई खुकुलो बनाउने सोचमा छ । कुनै समय भेनेजुएला अमेरिकाको प्रमुख तेल आपूर्तिकर्ता थियो, तर भेनेजुएलाले हालै चीनमा आफ्नो अधिकांश तेल निर्यात गर्न थालेको छ।
सम्बन्धित समाचार
पश्चिमी देशमाथि रुसको जवाफी प्रतिबन्ध : चिकित्सा सामाग्रीदेखि प्राविधिक उपकरणमा रोक
वि.सं.२०७८ फागुन २७ शुक्रवार १३:५६ मा प्रकाशित






























