डिल्लीप्रसाद अधिकारी, रिनाक, सिक्किम
पत्रकारले बिहानै फोनमा चाल पायो कि शहरमा एकाबिहानै ट्रकले मान्छेलाई किचेछ । अब उ ज¥याक जुरुक उठ्नै पर्ने भयो । उठ्यो । पत्रकारको धर्म हो घटनालाई बेलीविस्तार लगाएर जनतासमक्ष पु¥याउनु । पत्रकार त्यो पनि अहिलेको डिजिटल युगको । उसले समाचार सर्वप्रथम विस्तार गर्न पाउनुपर्छ । यो कुराको सचेतना घटनाभन्दा महत्त्वपूर्ण हुन्छ ।
ट्रकले मान्छे किचेको ठाउँमा पत्रकार पुग्दा किचिएको मान्छे र किच्च्याउने ट्रक दुवैले आफ्नो काम सकेर बसेका थिए । ड्राइभर पनि उपस्थित थियो । किचिने मान्छे पनि उपस्थित त थियो तर मृत ।
मृतकका आफन्त आइपुगेका थिएनन् । यही मौकामा केही कुरा ड्राइभरद्वारा जान्ने र त्यसलाई समाचार बनाउने ठान्यो पत्रकारले । ड्राइभरले आफ्नो तर्फबाट त्यो मान्छेलाई बचाउने भरिसक्ये प्रयास गरेकै हो तर मान्छे मातेको रहेछ र धर्खरिएर आफैँ ट्रकका चक्कामुनि परेर मरेको हो भनी जनायो ।
अब भने बिहानै त्यो मान्छेले कहाँ पायो त मात्ने कुरा ? यो पत्रकारका लागि महत्त्वपूर्ण भयो । मृतकको छाद सुघ्ने काम पनि पत्रकारले ग¥यो । घिन मान्नु भएन पत्रकारले । अनि उसले एकाबिहानै दोकान खोलेर प्रशासनलाई नटेर्ने रक्सी व्यपारीलाई पनि संज्ञानमा लिनुपर्ने ठान्यो । यसमा प्रशासनिक विफलता पनि एउटा पक्ष थियो । सबैलाई समेटेर उसले समाचार बनायो र फोटोसहित पोष्ट ग¥यो । सबैभन्दा पहिले समाचारलाई सबिस्तार पेश गरेकोमा उसले आनन्द अनुभव गर्न थाल्दैथियो त्यहाँ अचानक केही राजनीतिक कार्यकर्ता हाजिर भएर फोटो खिच्ने काम सम्पन्न गर्नथाले । मृतकको गलबन्दी, जुन लगाएरै उ मृत बनेको थियो त्यो राजनीतिक दलको झण्डा थियो ।
अब ट्रक ड्राइभर कुन दलको हो त ? अनुसन्धान गर्नैपर्ने भयो । दुर्भाग्य के भइदियो भने ट्रक पुछ्ने टालो पनि अर्को राजनीतिक दलको झण्डा नै रहेछ । घटना राजनीतिप्रेरित हुनलाई पनि मनग्ये भयो ।
अहिलेसम्म मृतकका आफन्त आइपुगेका छैनन् । पुलिस आए र आफ्नो काम गरिसकेर ट्रक हटाउने र ड्राइभरलाई हिरासतमा लिने काम गरे । मृतकलाई पनि सडकको किनारामा लगियो ।
यी सबै घटना भइसकेपछि यो घटनालाई लिएर अब विभित्र राजनीतिक दलको पत्रकार सम्मेलन हुनु निश्चित भयो । यसको कभरेज लिनुपर्ने दायित्व पनि पत्रकारकै भयो ।
मृतकका आफन्त कतिबेला आएर आफ्नो दायित्व पूरा गर्लान् कि नगर्लान् यही यो कथाको मुद्दा रह्यो ।
अहिले अरू सबै आफ्नो दायित्व निर्वाह गर्न व्यस्त छन् ।
वि.सं.२०७८ फागुन २८ शनिवार ०८:२२ मा प्रकाशित






























