दीनानाथ पोख्रेल, इलाम
छ प्रेम देशभक्तिको खुलोस् कला सुधारको ।
छ दण्डहीनता अझै रुँदै छ न्याय भाव त्यो ।।
सुधामयी सुशान्तिको छ मोह नित्य चेतमा ।
विचार भाव हुन् नयाँ सुधार हुन् स्वदेशमा ।।०१।।
उठोस् विचार कर्ममा खुलोस् विकास हारमा ।
रमाउँदै सुप्राप्तिले जुटौँ सबै सुधारमा ।।
सुतीसुती नछाँट रे अह्रोट भन्छ चेतले ।
उठेर लौ नबाझ रे सुप्राप्ति हुन्छ मेलले ।।०२।।
लगाव होस् नयाँ कुनै लिऊँ म प्राप्ति हातमा ।
सुचाल होस् सुकर्ममा रहन्छ सौख्य साथमा ।।
हिमाल हेर चाँदनी खुले समान रम्य छ ।
छ चाहना विकासको सुकर्म नै सुरम्य छ ।।०३।।
नेपाल भन्छ चेतले विकारयुक्त भावना ।
नराख भन्छ देशले कुमार्ग दुष्ट चेतमा ।।
नदी बहाव भन्छ यै सुकर्म नित्य साथ होस् ।
सुकर्मकै प्रभावले हिमालतुल्य माथ होस् ।।०४।।
सुपुत्रभै स्वदेशको सुकर्म गर्नु पर्दछ ।
स्वदेशकै सुधामयी विचार जाग्नु पर्दछ ।।
अनित्य जान देह यो रहन्छ नित्य कर्मले ।
सजीवता समान हुन् स्वकर्म छान धर्मले ।।०५।।
अप्राप्तिले सताउँदा रहन्न सौख्य साथमा ।
स्वकर्मका प्रभावले बहन्छ शक्ति गाथमा ।।
हटाउँदै कुकर्मका कुचाल फ्याँक्नुपर्दछ ।
रमाउँदै विकासमा सुप्राप्ति जम्नुपर्दछ ।।०६।।
छन्द- पन्चचामर
गण- ज र ज र ज गु
सङ्केत- ISI SIS ISI SIS ISI S
वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:५२ मा प्रकाशित






























