कलानिधि दाहाल, काठमाडौं
लामो समयको
प्रतीक्षाका ढोका खोलेर
किरणको कुचो लगाउँदै
पूर्वी क्षितिजको
सुदूर शिखरबाट
नयाँ यौवना
युवतीको मुहार चम्केझैँ
हिमाली शिरमा
हिमनदी पग्लन तत्पर
पहाडी पाखाका
लतावेष्ठित वृक्षझैँ
शिरमा केशराशि
चुल्ठी पर्न तत्पर
मादक दृश्यसौन्दर्यको
बहावमा
भर्खर
नयाँ वर्ष आगमनको
मुस्कान छरिएको छ
चारैतिर चकाचौध !
शिरमा सजाएर
शैलशिखरका तुल
र आँखामा छम्केर
गुराँसका फूल
भर्खर
पूर्वी क्षितिज बढारेर
किरणका कुचाले
काला बादलका
घुम्टामा लुकेकी
चिसी
घुर्मैली रछानजस्तै
शिशिर भगाएर अस्ताचलतिर
मधुर मुस्कान मुस्कुराएको छ
नयाँ वर्ष !
जे भए भए
–ठिकै छ
यो साल
तिमी आउँदा
तनशृङ्गारमा
बाहिरी आँखाको
चमकमा नभएर
मनका नागवेलीमा
मानवताका भँगाला फुटाउँदै
इन्द्रेणीको पटुकी कसेर
स्वाङ्का
सिसमहल भत्काउँदै
हरेक वर्ष
आएको छ यो
यसै गरी
तर
गाउँगल्लीहरू
–उस्तै छन्
शहरसभ्यताहरू
–उस्तै छन्
सत्तासामन्तहरू
–उस्तै छन्
भ्रष्टका भाङ्हरू
–अझ उस्तै छन्
तानाशाहका ढोलहरू
–उस्तै छन्
बमबाँरुदका ज्वालाहरू
–उस्तै छन्
मानवता घोपिने भालाहरू
–उस्तै छन्
नयाँ वर्ष !
तिमी त
खण्डहर गाउँमा
–बाटा बनेर आउनुपथ्र्याे
भोका पेटका
–खाटा बनेर आउनुपथ्र्यो
शहरसभ्यतामा
–संस्कार बनेर आउनुपथ्र्याे
सत्तासामन्तमा
–समता बनेर छाउनुपथ्र्याे
बमबारुद बल्ने
निरङ्कुश मनमन्दिरमा
–शीतको भागीरथी बग्नुपथ्र्याे
चाप्लुस
ओठे भ्रष्ट भाङ्मा
–उदारको आङ् ढाकिनुपथ्र्यो
खोक्रा मौखिक स्वाङ्मा
–वस्तुताका नयाँ ल्वाङ् चाखिनुपथ्र्याे
विगत साल
जे भए भए
–ठिकै छ
यो साल
तिमी आउँदा
तनशृङ्गारमा
बाहिरी आँखाको
चमकमा नभएर
मनका नागवेलीमा
मानवताका भँगाला फुटाउँदै
इन्द्रेणीको पटुकी कसेर
स्वाङ्का
सिसमहल भत्काउँदै
क्रमशः
गल्लीबाट
गाउँ पस
अमानव आँखाका
निधारमा
मानवताको बगैँचा
ढकमक्क
गुलाफ
र सुनगाभाजस्तै
उदारताको उच्च
आसन बस !!
वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:५४ मा प्रकाशित






























