मचिन्द्र खत्री, धरान, सुनसरी
छोडियो धानको भात च्याख्लामा लागियो जब
रोगले ग्रस्त मीठोमा मीठैको डर भो अब । १
गहुँको कनिका ल्याएँ दलिया खोज्न मै गएँ
साच्चै बेकुफ ठूलो यो आजका दिन मै भएँ ।।२
थाहा थिएन के हो यो, दलिया कुन जात हो
रहेछ गहुँ टुक्रेको साँझ बिहान भात यो ।।३
जिन्दगी रोग भण्डार प्रगोग ओखतीमुलो
क्याप्सुल झोल ट्याप्लेट अनेक वैद्यको धुलो ।।४
जडीबुटी नयाँ नौला बोक्रा पात मिलेजति
बाँच्न गर्दछ मान्छेले विश्वाससाथ ओखती ।।५
तर ढल्नु छ पक्का यो, बुझ्छ यो पनि मानिस
मान्दैन मनले बात बाँच्न चाहान्छ इच्छित ।।६
धामी झाँक्री कुनाकाप्चा झारफुक गरे पनि ।
हुन्न विश्वास मान्छे हो पुग्छ डाक्टरमा अनि ।।७
धामी झाँक्री कुरा गर्छन् लागोभागो भयो यता ।
डाक्टर भन्छ रोगै हो मान्छे रोगी गयो कता ?।।८
यो खा र यो नखा भन्ने अर्ती दिने सबैजसो ।
अलमल्ल हुने मान्छे गरोस् रोगी कसोकसो ?।। ९
अरूलाई दिने ज्ञान ठूलो ज्ञानी बनीबनी ।
आफूलाई प¥यो फन्दा अनि रुने स्वयं पनि ।।१०
यसैगरी कुनैबेला जान्छ प्राण कसैगरी ।
धामी डाक्टर झाँक्रीले सक्दैन रोक्न यो घडी ।।११
मायाँ तैपनि संसारी लीला अनेक गर्नुछ ।
जिन्दगी सुखले बितोस् अवस्य मर्नु मर्नुछ ।।१२
लेखेँ बसेर चौतारी, साथमा बर पीपल ।
प्रभातकालमा आज छ यो प्रभात शीतल ।।१३
मन्द पवनको सर्को पात हरर झर्दछन् ।
यतै मधुर पञ्छीले नूतन छन्द छर्दछन् ।।१४
छन्द : अनुष्टुप
वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:५५ मा प्रकाशित






























