रबि श्रेष्ठ,सन्धिखर्क, अर्घाखाँची
हाल : बुटवल, रुपन्देही
१
यदि दैवि शक्ति हुँदो होत ममा, मैले के के गर्थे होला
कोही टाढा हुन खोजे पनि, नजिक नजिक सर्थे होला
सम्बन्धमा लामो दुरी बढ्नुको कारण एकिन गरि गरि,
समस्या हल गर्दै, सबको मनमा हाँसो खुसि भर्थे होला ।
२
पहिला रुख चढाएर, अहिले फेंद काट्न शुरु गरे
सत्य र मिठो बचन बोलेर, अन्तमा ढाँट्न शुरु गरे
समय यस्तै हो वा मान्छे बदलिएको चिन्न गाह्रो भो,
गर्नुसम्म गरे, नपुगेर अब त दिमाग चाट्न शुरु गरे ।
३
नुनिलो आँसुको मसिले कोर्दैछु जिन्दगीका पानाहरु आज
थोंत्रो शरीरलाई टालटुल पार्न आकोछु अस्पतालमा काज
म मरें भने मेरो लास माथि नओढाई दिनु राजनैतिक झन्डा,
लगेर फालिदिनु बगरमा, बरु चल्नेछ गिद्ध र कौवाको राज ।
४
मानिस जिउँदैमा रुवाउँछन, मरे पछी रुन्छन कस्तो चलन ?
मुखमा राम राम, अनि बगलीमा छुरा हुन्छन कस्तो चलन ?
टुप्पाबाट पलाएकाहरु, नैतिकता र मानवता भूल्न थाले,
अहमता नै होला, अरुलाई गिराउन जालो बुन्छन कस्तो चलन ?
५
गन्तव्यको सहि पहिचान नगर्ने, हिड्दा पाईला गनेर हुन्छ ?
शितल छहारीको वेवास्ता, चर्को घामले पोल्यो भनेर हुन्छ ?
समय,अवस्था अनुसार चल्न सक्नुपर्छ भन्नेहरुले नै,
पर्दा गुण्डाको हर्कत देखाउने, अनि अहिले हिरो बनेर हुन्छ ?
वि.सं.२०७९ वैशाख ३ शनिवार ०७:५७ मा प्रकाशित






























