
अविचल आस्था मणि
मनमैंजु, काठमाण्डौं
उकारेको इच्छा, शुभ समयमा शान्त नमन,
चलेको हावामा मधुसुमन बास्ना हरदम ।
छु आएको बोकी सुखद सपनाका कचहरी,
छु लाएको आफै अनुभव भरी ताज पगरी ।१।
अनायासै आँखा टल्पल भएका किन किन,
उज्यालो आत्मामा छलफल चलेको प्रशमन ।
गरौं बाधा भन्दै अविरल बढेको अघि थिएँ,
गरौं सेवा लाग्यो, अविचल खडा हाजिर दिएँ ।२।
सबै आफैं जस्ता, सरल मतिका इष्ट स्वजन,
छु पाएको साथी सविनय कलायुक्त नमन ।
गरेको आत्माले विकसित कथा यो अब सुन,
सेवाग्राही पाए सरलमतिमा सक्छु नुहुन ।३।
छु एक्लै यात्रामा मणिजडित आस्था अविचल,
छु पाएको बाटो शुभ मति लिएँ चल्न सरल ।
चुमेको आस्थाले हितकर उज्यालो किरणमा,
छु आएको हाँस्दै, अभिनय गरि चुम्दछु कणा ।४।
सदाचारी बन्दै सकुशल चलेको पथ यहाँ,
छु पाएको चल्ने समयसित मिल्ने रथ नयाँ ।
सपारेको इच्छा अनुभ मिलेको सरलमा,
सुखी यात्रा सञ्चोसित हुन गयो यो सहजमा ।५।
मुना खुल्छिन् गोरी, मुकुलित सफा सार्थक मन,
चलाएका बास्ना सररर चले आज पवन ।
जसो आए लेखें, हरफ सुकिला अक्षरगण,
उदाएका पाएँ रविशशि कलासाथ किरण ।६।
नयाँ बाटो खुल्दा, अविचलित आस्था वरपर,
सबै बाधा भागे, अचम महिमाको परपर ।
नयाँ साथी आए धवलित प्रभामा समुचित,
निकालेको पाएँ मिलनलय सच्चा र पुनित ।७।
सबै डाकें मान्छे, धवल मनका बढ्नु छ अघि,
छु आस्था ज्योत्स्नामा भरभर बनेको बुझ कवि ।
सबै आफ्ना ठान्ने, सरल मति राख्ने असल छु,
छु मानेको यात्रा अवधिभर बन्ने सरल छु ।८।
छन्द : शिखरिणी