
स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारहरुको सकारात्मक परिणाम नआएपछि विवेकशस्ल साझा पार्टीको अध्यक्ष पदबाट राजीनामा दिएका रविन्द्र मिश्रले पार्टीका अन्य सदस्यलाई राजीनामा नदिन अनुरोध गरेका छन् ।
कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, आफुले पनि त्यही नै गरेको भन्दै उनले पार्टीबाट राजीनामा दिने तयारी गरिरहेका अन्य सदस्य तथा पदाधिकारीहरुलाई त्यसो नगर्न समेत अनुरोध गरेका छन् । ‘ पार्टीको केन्द्रीय समितिको बैठक बस्न दिनुहोस् र त्यसले नै पार्टीको भावी प्रारम्भिक बाटो तय गर्नेछ भन्ने विश्वास लिएको छु।’ मिश्रले भनेका छन् ।
पार्टीबाट राजीनामा दिएपछि धेरैले ‘अब के गर्नुहुन्छ ?’ भनर प्रश्नहरु आएको बताउँदै मिश्रले भनेका छन् –‘मलाई मेरो भाग्यले गुनासो गर्ने ठाऊँ नै नराखि चाहिनेभन्दा बढी दिइसकेको छ । मलाई थप केही आवश्यक छैन । मेरो राजनीतिको प्रमुख उद्देश्य ‘देशको दूरगामी हित र दशकौँसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्शै गर्न सकेन तिनलाई स्पर्श गर्नु’ थियो । त्यो सफलता अहिलेसम्म हासिल भएको छैन । त्यसका लागि ‘विचारभन्दा माथि देश’ लाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो । त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु । बाँकि, ‘उपरवाले की इच्छा !’
पार्टीको अध्यक्षबाट राजीनामा दिएपछि अगामी दिनमा कविता लेख्ने, किताव लेख्नुका साथै परोपकारी काम गर्ने र मन लागेमा सिनेमामा अभिनय समेत गर्ने मिश्रले सामाजिक संजालमा लेखेका छन् ।