सुरेशकुमार पाण्डे, दाङ घोराही -१८
दिनभरी साहुँको खेत जोतेर फर्किएको धनपति थकाइले लखतरान परेर घरमा पुग्दा ढोकामा ताल्चा देखेर झसङ्ग भयो । सम्झियो, रिमा त बिहानै उस्को आमा बिमारी भएर माइत पो गएकी छन् । हत्केलाले निदारलाई हिर्काउँदै जिब्रो टोक्छ धनपति !
खल्टीमा छामछाम छुमछुम गर्यो र चाबी निकालेर ताल्चा खोल्यो । नाम धनपति भएपनि धेरै गरिब अर्काको निमेक गरेर गुजारा चलाएका थिए उनले । केही बर्ष पहिले धनपतिले आफु जस्तै गरिखाने बर्गमा बिबाह गरेका थिए ।
धनपति सांच्चै भन्दा टुहुरो अनाथ बालक थिए । उनले यही गाउँमा गोठालो गरेर जीवन बिताउँदै आएका थिए ।
थकाईले लखतरान परेको धनपति घरभित्र पुग्दा अगेनामा पानी चुहेर भरिएको थियो । पानी निकाल्यो र त्यँहा आगो बाल्ने प्रयास गर्यो तर सफल हुन् सकेन । बाहिर अंझैपनि मसिनो पानीसँगै हावाहुरी पनि घरी घरी चलिरहेको थियो ।
धनपतिलाई भोक भन्दा पनि थकाई बढी भएरै होला उ भोकै चौकामा गुन्द्री बिछाएर पल्टेको भुसुक्कै निदाएछ ।
धनपति माइत गएकी रिमालाई लिन घोडा लिएर उनको माइत पुगेको थियो । उनलाई देखेर रिमा खुसी भइन् अनि धनपतिको छातिमा टाँसिएर घर फर्किने सल्हाह गरे । एकछिनमा रिमा र धनपतिसँगै सानो छोरा भुन्टे घोडामा बसेर घर फर्कन पाउँदा रिमा खुसी भइन् । शुन्दर घर, चारैतिर फूलैफुलको बगैचा अनि त्यसमा एउटा सानू झोलुङगामा भुन्टे झुल्दै थियो । धनपति यतिबेला स्वर्गमा भएको महसुस गरिरेको थियो । त्यो बस्तिमा कुनैपनि दुःखी गरिब थिएनन् । काम गर्नेले त्यसको राम्रो फल पाएको थियो । कसैमाथि अन्याय र अत्याचार हुंदैनथ्यो आखिर धनपतिको नेतृत्वमा त्यहाँंको राज्य ब्यबस्था सञ्चालित थियो । सबै आफुजस्तै श्रमजीवीहरूलाई कामको ज्याला उनको ज्यानको पसिना नसुक्दै पाउनुपर्छ भन्ने नियम कानून् बनाएको थियो । हिंजोको यो झुग्गीको बस्तिमा अहिले सबैका घर पक्की थिए । जसको जोत उसको पोतको ब्यबस्था गरिएको थियो । रिमाले महिंलाहरुलाई सवल र सक्षम बनाउने नेतृत्व लिएकी थिइन् भने धनपतीले यो देशको कार्यभार सम्हालेको थियो ।
चट्याङ्ग र सरक गुड्किएर अचानक तेज हुरी बतास चल्यो धनपतिको मुखमा पानीका थोपा तप–तप गर्दै खस्न थाले ।
उनको निन्द्रा खुल्यो आंँखा उघारेर हेर्दा घाम माथी डाँडामा आइसकेको थियो । रातभरि आएको हावाहुरी र पानीले घरको छानो फालिदिएको र निलो आकास खुला देखिएको थियो । निद खुलेकोमा पनि धनपतिलाई पछुतो लागेको थियो उसले मुस्कुराउँदै भन्यो–सोच्यो कास यो निद कहिले नखुलेको भएपनि हु्न्थ्यो ।
वि.सं.२०७९ जेठ २१ शनिवार ०८:४७ मा प्रकाशित






























