
गंगा दाहाल, महालक्ष्मी नगरपालिका, ललितपुर
१
धोका दिने र धोका खानेको लर्को छ यहाँ
बोल्ने शैली र भाषा कतिको चर्को छ यहाँ
पानी माथीको ओभानो छु भन्छन् भन्न त
जस्ले जेजे भने पनि कुरा त घरको छ यहाँ ।
२
टुप्पोमा पलाउनेले जराको मर्म बुझ्थ्यो भने
बेइमानीले ईमानको साँचो धर्म बुझ्थ्यो भने
प्रतिस्पर्धा, प्रतिशोधको लडाइ कहाँ हुन्थ्यो
मान्छेले थोरै आफैभित्रको शर्म बुझ्थ्यो भने ।
३
अरुको दोष खोट्याएरै दिन फाल्नु भन्दा
भित्रभित्रै प्रतिशोधको आगो बाल्नु भन्दा
उदाहरणिय ती काम गरे हुन्थ्योनी महोदय
उधार्दै कुरालाई कुरैको प्वाल टाल्नु भन्दा ।
४
जुरमुराउन टाकुरा पनि बोल्दा तिमिले
तर्सिउन प्रमाणहरु कुरा खोल्दा तिमिले
दुराचार, अन्याय अत्याचारको विरुद्धमा
चर्किओस् छाती सत्य छिचोल्दा तिमिले ।
५
पत्याउ कसरी अपत्यारिला बात तिम्रा
छर्लङ्ग छन् छोपिएका सबै घात तिम्रा
गरेनौ तिमिले जनलाई जेजे गर्छु भन्यौं
थिए सबैको भन्दा माथी ति हात तिम्रा ।