सीता घिमिरे, धुर्कोट –७, अजमिर, गुल्मी
१
घर सम्झी परदेशमा कति रुनु भयो होला
आँसु र पसिनाले मुहार कति धुनु भयो होला
इच्छा र भावनालाई कति पल्ट सार्दा–सार्दै
तस्विर हाम्रो ओल्टाइ पल्टाइ कति छुनु भयो होला ।
२
बाहिर खोल छ, चिज हुन्छ भित्र
कसरी छुट्याउने दुश्मन कि मित्र
सबै लुकेका छन् प्रायः यो संसारमा
निर्दयीको पनि राम्रो देखिन्छ चित्र ।
३
एकदिन मर्नु छदैंछ धनको पछि लाग्नु किन
रुनु एक्लै परे पछि जनको पछि लाग्नु किन
कर्कलाको पानी जस्तै केही बेर अडिने चिज न हो
होस् गुमाइ मातिएर यौवनको पछि लाग्नु किन ।
४
आफन्तको इज्जत गरे आशिष् हुन्छ शिरमा
कहिले पनि परिदैन दुविधा र पीरमा
उनिहरु नै जिउँदा देउता शिक्षा दिने गुरु हुन्
उनकै साथले समथल मात्र परिदैन भिरमा ।
५
खान बाँच्ने होइन हामी बाँच्न खानुपर्छ
असत्यको होइन हामी सत्मार्गमा जानुपर्छ
आखिर यो शरीर यहिं माटोमा छोडेर जाने हो
त्यसैले असल कृति समाजमा दिएर जानुपर्छ ।
लेखकको ‘१०१ सीताको सिर्जना’ मुक्तक सङ्ग्रहबाट लिइएको
वि.सं.२०७९ असार ११ शनिवार ०५:१० मा प्रकाशित






























