कम्पाला, युगान्डा । गैरआवासिय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिती युगान्डा र नेपाली रक्तदाता सङ्गघको संयुक्त आयोजनामा युगान्डाको कम्पालामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कम्पालाको किङडम कम्पाला मलमा आइतबार सम्पन्न रक्तदानमा ७२ जनाले रक्तदान गरेका थिए ।
रक्तदानमा नेपाली रक्तदाताका अलावा स्थानीय युगान्डन र अन्य देशका व्यक्तिहरुले पनि रक्तदान गर्नुको साथै भारतीय तथा पाकिस्तानी संस्थाहरुको समेत सहभागिता रहेको थियो । ब्लड बैंक युगान्डालाई सोहीदिन रगत हस्तान्तरण गरिएको आयोजक समितिका अध्यक्ष बर्षा क्षेत्रीले बताइन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार युगान्डालाई वर्षेनी ३ लाख चालीस हजार युनिट रगत आवश्यक पर्ने गर्दछ । जसमध्ये २ लाख युनिट मात्र संकलन हुँदै आएको छ । रगतको अभावले धेरै युगान्डनहरुको अकालमा नै मृत्यु हुने गरेको पाइएकोले रगतको अभाव हुन नदिनका लागि गैरआवासिय नेपाली संघले रक्तदान कार्यक्रमको नियमित रुपमा आयोजना गरिरहेको एनआरएनए युगाण्डाका अध्यक्ष बिनोद थापाले जानकारी दिए ।
नेपाली रक्तदाता संघकी सहसचिव तारा गिरीका अनुसार नेपालीहरुको युगान्डामा न्यून उपस्थितिका बावजुद पनि अत्यन्तै सराहनीय काम गर्दै आएको भन्दै युगान्डन तथा अन्यमुलुकहरुका संस्थाहरुले चासो राख्ने गरेको र नेपालीहरुलाई धन्यवाद दिने गरेको बताइन् ।

उक्त रक्तदान कार्यक्रमलाई पाकिस्तानी संघले आपतकालीन परिस्थितिका लागि भन्दै दिनभरी एम्बुलेन्स उपलब्ध गराएको थियो भने रक्तदाताको खानाको ब्यवस्थापन कम्पालास्थित नेपाली रेष्टुरेन्ट हिमालय रेस्टुरेन्ट एन्ड बारले गरेको थियो ।
रक्तदान कार्यक्रममा एनआरएनए युगाण्डाका बरिष्ठ सल्लाहकार रमेश कंडेल, कोषाध्यक्ष संजिव सापकोटा, सहकोषाध्यक्ष सुनिल तामाङ उपाध्यक्ष रमा अर्याल, प्रवक्ता तेज खडका, प्रेम श्रेष्ठ, महिला उपाध्यक्ष सिता श्रेष्ठ, निक्कु केसी, रक्तदाता संघ सदस्य तिलक प्रसाद भन्डारी, रेडक्रस युगान्डा, ब्लड बैंक युगान्डा लगायतको सक्रिय भूमिका रहेको थियो ।

वि.सं.२०७९ असार १३ सोमवार १६:२३ मा प्रकाशित






























