बिष्णु ठकुरी
साई नन्दन, दिलाराम टुङ्ग, दार्जिलिङ
म मात्र एउटा ढाँचा मान्छे हुनुको
कसले पत्याउला मेरो अस्तित्व हुनुको
एक झोंका हुरी बतास आए उडाई लाने
मलाई नै छैन विश्वास यहाँ म हुनुको ।
म हाँस्दा यहाँ मेरा आँखा नै चिम्म हुन्छ
को खुशी भए को भएन अन्धकार हुन्छ
कसरी बखान गरुँ म सबैको मनसाय
भित्री बाहिरी आँखाले नदेखे गाह्रो हुन्छ ।
शरीर मेरो एकमुट्ठीको कसले पत्याउने
आँट गर्न सक्तैनन् मलाई कसैले हत्याउने
नपत्याइनु पनि पक्षपोषक रहेछ कुरा
रुग्ण देखिने ढाँचालाई कसले पत्याउने ।
जता हेर्छु उतै किन देखिन्छ हलचल
जान्ने र बुझ्ने मन हुन्छ अति नै चंवल
चिसो छ मौसम तर हावा छ निकै गरम
बुझी ल्याउँदा हारजीतको रहेछ खलबल ।
आफु त परियो एक अदृश्य छाँया
नगर्नु छ पर्दाफास न कसैको माया
अधर्मी किन बन्नु यहाँ आफ्नै धरामा
यस्तै अर्ती दिइरहने सम्झिन्छु मेरी आमा ।
वि.सं.२०७९ असार १८ शनिवार ०८:०२ मा प्रकाशित






























