ओम आचार्य, अर्घाखाँची
राम्रा भनेर
हाम्रा बनाइएकाहरू
एकपछि अर्को गर्दै
ओरालो लाग्दै गरेको दृश्यले
आफन्तको मलामी
जाँदाको आभास हुँदोरहेछ ।
सतीको सराप
परचक्रीको धराप
तल माथिको करकाप
सबैको चाबुक खप्न नसकेर
एकमुठी सास कतिबेला
फुत्त निस्कन्छ के ठेगान !
उकुसमुकुस छ समय
निस्सासिएका छन् नदी नालाहरू
राम्रा भनेर हाम्रा बनाइएकाहरू
थाहा छैन साँढे हुन कि गोरु
न दाईँ गर्छन् न जोत्छन्,
डुक्रन्छन् मात्र बेला न कुबेला ।
अगस्तिहरू सल्बलाइरहन्छन्
कतै हरियो परियोको सुइँको पाएकि
मन्द्राएर झम्टिहाल्छन्
चाहे दाम्लो छिनाल्न परोस् वा किलो उखेल्न
आफ्नै सिङ फुक्लिदा पनि लप्लपाइरहन्छन् । ।
गुहार भन्दै छ भूगोल
लज्जाले नजर झुकाएको छ इतिहास
वर्णशंकरहरूको छिल्लिएको उछ्रिङ्खल प्रेम
अर्को एउटा दुःखान्त पटाक्षेप
पूवानुमान गर्दैछ कठोर वर्तमान ।
वि.सं.२०७९ असार १८ शनिवार ०८:०५ मा प्रकाशित






























