अनुराग अरुण, ललितपुर
वाल्मीकि आश्रममा प्रकृतिको रमणिय मनोहर छठाहरु हेरेर रमाउँदै थिए । पर ठूलो पत्थरमा एक बृद्धा बसेको देख्छु । उनलाई एक्लै देखेपछि नजिकैमा गएर सोध्छु, ‘नमस्कार आमा ! सुनसान निर्जन वनमा एक्लै, हजुर को हुनुहुन्छ ?’
बिस्तारै झुकेको मुन्टो उठाउँछिन् । बुढ्यौलिले मुजा मुजा परेको अनुहार पुरै आँसुले लतपतिएको देख्छु। उनका हातहरु लगलग काम्दै थिए । लौरो बेस्सरी समाउँदै भन्छिन्, ‘नमस्कार बाबू ! म सीता हुँ ।’
बुढी आमाको मुखबाट ‘सीता’ सुन्ने बित्तिकै फेरि सोध्छु, ‘जनक नन्दिनी, पुरुषोतम पुरुष राम कि अर्धाङ्गिनी सीता ?’
‘हो बाबू !’
‘नमन आमा’, भन्दै चरण स्पर्श गर्छु ।
‘भाग्यमानी हुनु ।’, आशिर्वचन दिनुहुन्छ ।
पाउ छेवैमा बसेर सोध्छु, ‘आमा ! हजुरलाई दुखद अवस्थामा देख्दैछु ।’
‘जुन स्त्रीलाई पतिले नै स्वयम् परित्याग गरेको छ । त्यसको अवस्था कस्तो हुन्छ ? यो पीडा शब्दले व्यक्त गर्न सकिँदैन बाबू ।’ आँचलले आँसु पुछ्दै बोल्छिन् ।
´तपाईं माथी घोर अन्याय भएको छ, आमा ।’
‘बाबू ! सत्य माथी जहिले पनि अन्याय हुन्छ । जो मान्छे सत्यमा चल्छ । उसैले पटक पटक आफ्नो सत्यताको परिक्षा दिनु परेको छ ।’
‘यस्तो किन हुन्छ, आमा ?’
मेरो जिज्ञासा सुनेर भन्नुहुन्छ, ‘सत्य अजर अमर हुन्छ । तर पिडादायी हुन्छ । त्यसैले सत्यलाई अंगाल्न चाहादैनन् । मान्छे क्षणिक भौतिक सुखको लागि असत्यको बाटो हिड्न रोज्छन् । असत्यले भौतिक सुख त दिन्छ । तर आत्मिक सुख र शान्ती दिन सक्दैन ।’ यसो भन्दै गर्दा आमाको आँखाबाट बलिन्द्र आँसुका धाराहरु तप्पतप्प चुहिरहेको छ ।
आँसु पुछिदिदैं सान्त्वना दिदैं भन्छु , ‘नरुनुस् आमा ।’
आफ्नो पीडा व्यक्तगर्न आमालाई निकै कठिन महसुस भइरहेको भान हुन्छ । असह्य वेदनाले उनका ओठहरु काम्दैछन्, ‘बाबू ! मलाई मेरो पतिदेखी कुनै गुनासो छैन । गुनासो त केवल यो समाज देखि छ । जसले मलाई मेरो प्राणप्रिय पतिबाट विछोड गरायो । यो निर्जन वनमा एक्लै बस्न बाध्य बनायो । म उनको यादमा जिउँदै मरेतुल्य भएर बाँचिरहेको छु ।’ यसो भन्दै आँचलले मुख छोप्दै भक्कानिएर रुन थाल्छिन् ।
हात समाएर भन्छु, ‘नरुनुस् आमा ।’
‘अविवेकी समाजमा सत्यलाई बाँच्न असाध्यै गाह्रो कठिन हुन्छ । पाइला पाइलामा विभिन्न आक्षेप र अवरोधहरुको सामना गर्नुपर्ने हुन्छ । बारम्बार निर्दोषताको अग्निपरिक्षा दिइरहनुपर्छ । हे इश्वर ! कहिले यो समाज विवेकशिल बन्छ ।’ भन्दै उठेर जान लाग्छिन् । आमा केही पर पुगेपछि अलप हुन्छिन् ।
यो सपना देखेर अनायासै मेरो निन्द्रा टुट्छ । बत्ती बालेर टेबुलमा भएको अंखोरा लिएर पानी पिउन थाल्छु । निकैबेरसम्म गहिरो सोंचमग्न हुन्छु । यो अविवेकी समाजले गर्दा हाम्री सीता माताले त असाध्य दुःख झेल्नु भो । हामीले अझ कति दुःख व्यहोर्नुपर्ने होला ।
वि.सं.२०७९ असार २५ शनिवार ०९:४० मा प्रकाशित






























