अम्बर बहादुर बिक ‘अभागी’
उदयपुर हाल दोहा, कतार
१
जोडेर मायाका इटाहरुले एउटा घर बनाउँला
तिम्रो र मेरो माया मिसाई एउटै थर बनाउँला
हिम्मत देउ तिमीले आँट गर्नेछु मैले मायालु
सोचेको जस्तै कल्पनामा उस्तै सहर बनाउँला ।
२
भागवण्डा नमिल्दा कुकुर जस्तै गर्छन् झगडा
निकालेर जनताको आँखामा छारो हाल्ने बखडा
निको शासन कहिले आउने जनताले राहत पाउने
देश अब शेष हुनै आट्यो अझै मिलेको छैन लफडा ।
३
चर्को घामले जनता खाडीको गर्मीमा ढल्दैछन्
नेताहरु पद र पैसाको लागि मरिहत्ते गर्दैछन्
चाहियो कुर्सी काम सिन्को भाँच्दैन हेरौंन फुर्ति
प्रवासीहरु दिनै देशको दुःखद खबर पढ्दैछन् ।
४
आजकल पनि हेर्छु म घरीघरी उनलाई लुकेर
विगतलाई फर्कि सम्झिदा आउँछ छाती दुखेर
हुन्थ्यो होला कति हाई सञ्चो यो मुटुमा दुख्ने
घाउ फ्याँक्न सक्ने भए छाती भित्र देखि थुतेर ।
५
जून फुल्दा मध्य रातको अँधेरीमा रातै रमाइलो
मायालुसँग भेट्दा उसै पँधेरीमा बातै रमाइलो
उनी अलिक वर आउने म उनलाई भेट्न धाउने
मायाले काँधमा राखेको सुकोमल हातै रमाइलो ।
वि.सं.२०७९ साउन ७ शनिवार ०७:५५ मा प्रकाशित






























