सूर्य गिरी, माछापुच्छ्रे गा.पा.५, रिभान,कास्की
१
फूल छुँदा चुड्यो भन्छयौ, छुन्न म त अब
जति रुवाउनु रुवाई सक्यौ रुन्न म त अब
तिम्रो मायामा खत रहेछ, धुन सम्म धोएँ,
नमेटिने दाग लाइछ्यौ, धुन्न म त अब ।
२
स्वच्छ सुन्दर हावापानी सम्झेर गाउँ फर्क
पहाडका अमूल्य खानी सम्झेर गाउँ फर्क
अबेर भइसक्यो गाउँ विकासगर्न युवाहरु,
जोस, जाँगर र जवानी सम्झेर गाउँ फर्क ।
३
गाउँमा बस्छन् अझै मान्छे सहर छँदाछँदै
हरेस खान्छन् किन मान्छे रहर छँदाछँदै
जन्मलाई पछ्याएर मृत्युु आएकै हुन्छ हजुर,
भो चाहिँदैन अमृत मलाई जहर छँदाछँदै ।
४
परिवर्तनको हावाले आमाको चोली फेरियो अचेल
सभ्यताको नाउँमा छोराछोरीको बोली फेरियो अचेल
विदेशीहरुको नक्कले प्रवृत्ति, देशमा भित्रिएपछि,
बहिनीको बिहेमा अन्माउने डोली फेरियो अचेल ।
५
गाउँघरमा न डाक्टर, न धामी पाइन्छ
मर्दापर्दा सघाउने, न मलामी पाइन्छ
पाइन्छ पाइन त चोरी ठगी खानेहरु,
सोझालाई दुःख दिने, हरामी पाइन्छ ।
वि.सं.२०७९ साउन ७ शनिवार ०८:०१ मा प्रकाशित






























