बाबुराम न्यौपाने ‘उत्स’
दमक, झापा
जब मलाई
विश्वब्रमाण्डको भव्य आँगनमा
आफ्नू
रहस्यमय उपस्थितिको
आभाष हुनथाल्यो
म अभूतपूर्व
रोमाञ्चकतामा डुबेँ
हर्षले
रोमरोम पुलकित भयो ।
मलाई थाहा हुँदै गयो
किन
कमलको फूल
हिलो र दलदलमा फुल्छ
किन
चिहानमा पनि
झरीला गुलाफहरु
मगमग सुवास छरेर
ढकमक्क फक्रन्छन् ।
थाहा हुँदै गयो
आँसुको महासागर
र
आगोको उष्ण ज्वालाभित्र पनि
प्रेमका कोमल टुसाहरु
अंकुरीत र पल्लवित हुनसक्छन् ।
स्वयं महाकायब्रमाण्ड
जन्मन्छ र मर्छ
पृथ्वीरुपी चिहानघारीमा
झारपात वृक्षहरु लहराउछन्
भयंकर आँधीमा पनि
आशा र स्वतन्त्रता
जीवनको गीत गाउँन भुल्दैनन् ।
बोध हुँदै गयो
मेरो
भौतिक उपस्थिति
पानीको डोब समानमात्र छ
अनि म
मृत्युको महाभयबाट
मुक्त हुँदैगएँ ।
वि.सं.२०७९ साउन ७ शनिवार ०८:०४ मा प्रकाशित






























