डा. विदुर चालिसे, काठमाडौं
जोखाना हेर्ने जोतिसले एकदिन ‘इरोटिक कविता–कल्प’ को बारेमा व्याख्यान सुन्न भोजको आयोजना गरेर कविहरूलाई बोलाए । उनले सुटुक्क आफ्नो एउटा कविता कुर्ता सुरालको पकेटबाट झिकेर गाउन थाले । उनको कविताको लय थियो ।
‘समालोचना !’
कविताको शीर्षकचाहिँ समसामयिक विषयको अब्बल थियो । ‘विमोचन !’
त्यो कविताको भोजमा जाने रहर मलाई पनि थियो तर अवसर मिल्नसकेन । बालिष्टमाथि उपरखुट्टी लगाएर बसिरहेको मेरो ध्यान कसोकसो अन्तै मोडियो । मोडदामोड्दै मनमनै अनायास एउटा तर्कना उठ्यो । तर्कनाको साथमा भावुकताको चाप्लुसी पनि उडिरहेको थियो । अलौटा मकैको पटपट आवाज कानमा सुनिन्थ्यो । खिस्स पर्थेँ । खुच्चिङ हुन्थेँ । सम्झन्थेँ । मुखबाट मेरा शब्दहरू निस्के ।
‘म न झाँक्री, न वैद्य, न चिकित्सक !’
बालिष्टमा आराम गरिरहेको ठाउँमा आएर बुढी मैयाँले कानैमा आएर भनिन् ।
‘हजुर त खासमा बोक्सी नै हो, सबलाई डस्ने !’
मैले पनि उनलाई मनको ठुँग मार्दै छिल्लिएर भन्न भ्याइहालेँ ।
‘तिमी पनि नागिन हौ नि त !’
यसै बीच तत्कालै एकजना मित्रको जिस्किएर मेसेन्जरमा कल आयो । मैले खासै उठाइन । उठाउनका लागि कुनै अधिकार थिएन । उनको स्वभाव यस्तै लाग्थ्यो । घरिघरि उडिरहने मित्रले फेरि न्वारान देखिको बल लगाएर मेसेज लेखेर पठाए ।
‘धन्दा मान्नु पर्दैन, हुन्छ !’
‘के हुन्छ ?’
‘काम हुन्छ तर अलि गडबड छ !’
उनले बोलेको गडबड शब्द सुनेपछि मेरो मनमा बेला बेलामा मित्रको रोग बारे सोधेँ ।
‘साइक्रयाटिक प्रोब्लेम ?’
उनी झस्किन थाले । उनको लेखाइका बर्णहरू लर्बरिन थाल्यो । उनको हातको ओैंला कसो दायाँबायाँ पुगेर छटपटिएर रहेझैं शब्दहरू मेसेन्जरमा बर्सिन थाल्यो । उनले हतारमा एक शब्द लेखे ।
‘सरि !’
वि.सं.२०७९ साउन ७ शनिवार ०८:०७ मा प्रकाशित






























