भुवन शिवाकोटी चौघरे,काठमाडौं
मेरो दुश्मनलाई
हर हमेसा एउटै पीर छ
म
सधै हाँसेर हिड्छु
मेरो आँखामा
कहिल्यै बाढी आउदैन
मेरो घरको कौशीमा रातै फूलहरू
ढकमक हुन्छन्
उसलाई अझै ठूलो पीर छ
मेरो घरमा
हुरी
आँधीमा पनि दियो बलेको हुन्छ
तर
उसलाई थाहा छैन
उसको घर अँध्यारो देख्दा
म कति दुखि छु
आखिर
ऊ
मेरो छिमेकी हो
उसको घर अँध्यारो हुँदा
मेरो आँगनमा पनि छायाँ हुन्छ
म
उसको आँगनमा अँध्यारो मेटाउन
उसँग
उज्यालो बाँड्न चाहन्छु
तर ऊ
मैले सल्काइदिएको दियो निभाउछ
र
अँध्यारो झ्यालबाट
मेरो चुलो नियाल्दै
मुर्मुरिन्छ
म
उसलाई सुन्छु
मेरो उज्यालो दियोले
उसको हृदयमा जलन छ
तर
उज्यालोबाट अँध्यारोमा
म
उसको ईर्श्या देख्दिन
ऊ
मेरो छिमेकी हो
वि.सं.२०७९ साउन १४ शनिवार ०८:२३ मा प्रकाशित






























