प्रज्वल पुकार,पाख्रीबास, धनकुटा
हावालाई समेत अनुमति बिना
प्रवेश निषेध लेखिएको छ
यो कंक्रिटको मन भएको सहरमा
घामले समेत टिकट काट्नु पर्ने रहेछ
यो आलाकत्राको हृदय भएको बस्तीमा
आमाका मुटुका रक्त सञ्चारहरु बटुलेर
बा का हराएका अनुहारका रङ्गहरु खोजेर
आएको छु गाउँका एक पोको कविता लिएर
मेरा कवितामा
आमाका छातीमा बाल्टी थापेर
बटुलेर आँसुका थोपा थोपा ल्याएको छु
गाउँकि देवी काली भगवतीको मन्दिर बाहिर
जमेको रजस्वलाको रगत निचोरेर ल्याएको छु
हलाका फालीले उक्काएका
अझै ऐया ऐया भन्दै चिच्याईरहेका
रगत छादिरहेका केही थान
औला नङ्गहरु ल्याएको छु
विद्यालयको ढोकामा पुगेपछि
चर्को शुल्क तिर्न नसकेर आत्महत्या गरेका
नानीहरुका केही आत्माहरु ल्याएको छु
जनयुद्धताका खुकुरीको धारमा
पाईन लगाउदा लगाउदै
कुईना सम्म आरनमा डढेका
मेरा हजुरबाका दुईथान हातहरु ल्याएको छु
गोली लागेर छट्पटिदा छट्पटिदै
सानो खाडलमा पोको पारेर जिउँदै पुरिएका
दलवीर काकाको चिहान खोतलेर
नलीखुट्टाको हड्डी ल्याएको छु
तत्काल समयले लोग्नेको जिउ निलेपछि पनि
बाँच्न विवश बिधुवा स्वास्नीका टाउकाहरु ल्याएको छु
आत्मीय मायाको परिभाषा गुमाएका
टुहुरा बच्चाका आमाका केही काखहरु ल्याएको छु
मैले जे जे ल्याए पनि
तपाईका अकुत सम्पत्ती हिस्सा माग्ने थिएनन्
मेरा यी कोमल कविताहरुले
तपाईले त मेरा कविता देखेर
फलामको ढोका पो लगाउनु भएछ त हजुर
मैले पनि लगाईदिनु थियो मेरा कवितालाई
फलामको एउटा पेटिकोट सिलाएर ।
वि.सं.२०७९ साउन १४ शनिवार ०८:२२ मा प्रकाशित






























