उत्तम विचार,टोखा, काठमाडौं
बुबा नै हुन् दाता जनम शिशुको पालक उनै
दिने खाना नाना मकन ममता पोषक उनै ।
दिने शिक्षा दिक्षा अनुनयविना ज्ञान र कला
बुबा नै हुन् ज्ञाता गुरु चरणमा माथ रहला ।।१।
ग¥यौ तातेताते टुकटुक हिँडेँ बाल वयमा
सुन्यौ तोते बोली ब ब ब ब बुबा रम्य लयमा ।
चढेँ घोडा ठानी हट हट थियो काँध बलियो
भयो वृद्धावस्था दिनदिन गली काँध थलियो ।।२।
घरी पुग्थ्यौ मेला कृषक हलिया बन्नुछ भनी
तिनै बाँझा पाखा समथल गरा खन्नुछ भनी ।
झिकी कन्थो टोपी तरर पसिना पुछ्न कसिने
उनै मेरा बाबा श्रम र सिपमा ढाडस दिने ।।३।
सबै ठान्छन् आमा अतिशय खपी हर्षित हुने
कहाँँ होलान् बाबा सुख सयलमा लिप्त रहने ।
बुबालाई ढोगूँ चरण म परूँ आदर गरी
उनै मानूँ द्यौता कलुष तनका नाशक हरि ।।४।
गरौँ श्रद्धा जागोस् हृदय भरियोस् श्राद्ध नगरौँ
छँदा बाँच्ने आशा थिचमिच गला रुद्ध नगरौँ ।
किनौँ मिल्ने छैनन् खनखन गनी मुल्य जति नै
चिनौँ लागून् बाबा असल निधि हुन् आर्जन तिनै ।।५।
छन्द : शिखरिणी
वि.सं.२०७९ साउन १४ शनिवार ०८:१७ मा प्रकाशित






























