शरद प्रधानाङ्ग, विराटनगर, मोरङ
१
आमा शब्द नै अतुलनिय हुन्छ कसरी बयान गरूँ म,
अमृत भार तिर्न सकिन्न संधै तिम्रो आँचलमा सरूँ म,
माया ममताको खानी श्रध्दाले शीर झुकाउँछु पाउमा,
तिमी नै भगवान तिमी नै देवी तिम्रो शरणमा परूँ म ।
२
कहिले पराई आफन्त अनि आफन्त पनि पराई हुन्छ,
सहज नठान्नु कसैलाई समय अनुकूल कठिनाई हुन्छ,
आत्तिनु अनि मात्तिनु वाधा र अवरोधहरू हुन् गन्तब्यको,
यात्रा हो जिन्दगीको कहिले समिप कहिले उचाई हुन्छ ।
३
परेलीबाट झरेको पीडित आँसु गालाको टाटो बन्न सक्छ,
बाध्यताले पिल्सिएर नै यहाँ कैयौं लाटो बन्न सक्छ,
स्वार्थी दुनियाँ केवल तमाशा हेर्छन् मात्र बजाएर ताली,
यदि केलाउन सके इतिहासको एउटा पाटो बन्न सक्छ ।
४
अहमता चुँडिएको चङ्गा हो गन्तब्य थाहा हुँदैन,
एकान्तमा कसरी रमाउँछौ कसैलाई आहा हुँदैन,
कम्तीमा दुई चार मलामी कमाउनु जिन्दगीमा,
नत्र मृत्यु पछिको यात्रामा कसैलाई चाहा हुँदैन ।
५
जुत्ता जतिसुकै दामी होस् उस्को ठाउँ शीर हैन पाउ हो,
जति दुध खुवाएर पालेनी मौकामा डस्नु सर्पको दाउ हो,
मानिस ठुलो हुँदोरहेछ आफ्नो प्रगति अरूको दुर्गतिमा,
बाहिर दुनियाँले कहाँ देख्छ पीडा छाती भित्रको घाउ हो ।
वि.सं.२०७९ साउन १४ शनिवार ०८:१६ मा प्रकाशित






























