वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
हायसबाट उत्रेर नजिकैको यात्रु प्रतीक्षालयमा बसेको मात्र के थिएँ; मोबाइलले कानै फुटाउँलाझैँ गर्यो ।
‘कहाँ छस् यार ! काठमाण्डु आउँदै छस् भन्ने सुनेको छु । कहिले हिँड्छ्स् त्यहाँबाट ?’ सानैमा राजधानी भाँसिएको मित्रले फोनमा भन्यो ।
‘आउदै छ्स् होइन् आइसकेँ ! नजिक छस् भने आइज् न रत्नपार्कमा; यतै भेटौँ !’ मैले भने ।
‘रत्नपार्क ..? त्यहाँ भेट्ने र ! ….. ल ल ।’ अचानक तर्सिदै उसले भन्यो र फोन काट्यो । लगत्तै मोबाइल फेरि चिच्यायो ।
‘सालाजी ! कत्ता आउनु भो ? फोन नलागेर कम्ता हैरान भैन । अहिले बल्ल लाग्यो ।’ राजधानी बस्ने भेनाले फोनमा भने ।
‘काठमाण्डु आइसकेँ भेना । अहिले रत्नपार्कमा छु ।’ मैले खुसी हुँदै भने ।
‘रत्नपार्क ??…हस् सालाजी ! म आउँछु ।’ भेनाको आवाजमा तर्साइ थियो ।
‘रत्नपार्क नाम सुन्नेबित्तिकै तिनीहरू किन तर्सेको होलान् ?’ मैले अनौँठो मानिरहेको थिएँ । तर्सनुको कारण नियाल्न सडक बत्तिको उज्यालोमा यसो दायाँबायाँ नजर लाउदै थिएँ ।
‘ओइ सोल्टी ! जाने हो ?’ अघिदेखि मलाई नियालिरहेकी एउटी अर्धनग्न युवती नजिकै आएर फुसफुसाईन् । ‘म त निकै मिलाएर लिन्छ क्या !’ हेरे, परबाट अर्की युवतीले आँखा सन्काउँदै थिई ।
‘साथी, भेना कतिबेला आउलान् !’ मलाई अत्यास लागेर आयो । अघिसम्म रत्नपार्क नामले मान्छे तर्सनुको कारण नजानेको म यतिबेला भने प्रष्ट भइसकेको थिएँ ।
वि.सं.२०७९ साउन १४ शनिवार ०८:२५ मा प्रकाशित






























